सुनकोशीमा जिप खस्दा ३ जनाको मृत्यु, ३ बेपत्ता
बिर्तामोड, १ कात्तिक ।
सिन्धुलीको फिक्कल गाउँपालिका–६ नागथानमा यात्रुवाहक जिप सुनकोशी नदीमा खस्दा तीन जनाको मृत्यु भएको छ भने चार जना घाइते भएका छन् । दुर्घटनामा तीन जना बेपत्ता भएका छन् ।
काठमाडौंबाट खोटाङतर्फ जाँदै गरेको को १ ज २९७६ नम्बरको जिप आइतबार बिहान करिब साढे दुई बजे मध्यपहाडी लोकमार्गबाट करिब दुई सय मिटर तल सुनकोशी नदीमा खसेको हो ।
सिन्धुली प्रहरीले दुर्घटनामा तीन महिलाको घटनास्थलमै मृत्यु भएको जनाएको छ। मृतकको पहिचान खुल्न बाँकी छ । दुर्घटनामा घाइते भएका जिप चालक ओखलढुंगाका २९ वर्षीय आशिष बिष्टसहित चार जनालाई उद्धार गरी थप उपचारका लागि सिन्धुली जिल्ला अस्पताल पठाइएको छ ।
चालकका अनुसार दुर्घटनापछि तीन जना बेपत्ता छन्। उनीहरूको खोजीका लागि नेपाल प्रहरी र सशस्त्र प्रहरीको गोताखोरसहितको टोली परिचालन गरिएको छ । दुर्घटनाको कारण खुल्न नसकेको प्रहरीले जनाएको छ ।










प्रतिकृया दिनुहोस