नेपाली खाना स्वाद मात्र होइन, संस्कृति र पहिचान पनि हो : वरिष्ठ सेफ केसी

काठमाडौँ, ३ कात्तिक । 
नेपाली परम्परागत खाना स्वादका लागि मात्र नभई संस्कृति, परम्परा र स्वास्थ्यसँग पनि जोडिएको वरिष्ठ सेफ गोविन्दनरसिंह केसीले बताउनुभएको छ। उहाँले नेपाली रैथाने खानाको मौलिक स्वाद र विशेषता जोगाउँदै स्वस्थ तथा सन्तुलित खानपानमा ध्यान दिनुपर्नेमा जोड दिनुभएको छ ।
चार दशकभन्दा लामो समयदेखि नेपाली तथा विदेशी परिकार बनाउने काममा संलग्न सेफ केसीका अनुसार दसैँमा मासु, तिहारमा सेलरोटी तथा विभिन्न पर्वमा खाइने खिर, क्वाँटी, तरुल र घ्युचाकुजस्ता परिकार नेपाली संस्कार र संस्कृतिका अभिन्न अङ्ग हुन् । यी परिकारको प्रचलन मौसम र मानव स्वास्थ्यसँग पनि जोडिएको उहाँको भनाइ छ ।
दसैँमा मासुका परिकार खाँदा स्वादसँगै स्वास्थ्यलाई पनि ध्यान दिनुपर्ने उहाँले सुझाव दिनुभएको छ । एकैपटक धेरै मासु खानुभन्दा आवश्यक मात्रामा खाने, सागसब्जी, हरिया तरकारी र सलाद पर्याप्त प्रयोग गर्ने तथा तारेकोभन्दा स्वस्थ र राम्ररी पाकेको मासु खानु उपयुक्त हुने उहाँको भनाइ छ ।
सेफ केसीले भुटेर राखेको मासु धेरै दिनसम्म पटकपटक तताएर खानुभन्दा फ्रिजमा सुरक्षित राखी खाने बेलामा पकाएर खान सुझाव दिनुभएको छ । मासु खाँदा अजीर्ण हुने गरी नखान र नियमित हिँडडुल तथा शारीरिक व्यायाममा पनि ध्यान दिन उहाँले आग्रह गर्नुभएको छ ।
नेपाली खानामा प्रयोग हुने शुद्ध तोरीको तेल, सिलौटामा पिसेको लसुन–अदुवा, जिरा, धनियाँ र शुद्ध घिउले मौलिक स्वाद बढाउने उहाँको भनाइ छ ।
नेपाली रैथाने परिकार स्वादिष्ट र स्वास्थ्यका दृष्टिले पनि उपयोगी हुन सक्ने उल्लेख गर्दै उहाँले नयाँ पुस्ताले मौलिक स्वाद, पाककला र खानपानको परम्परा संरक्षण गर्नुपर्नेमा जोड दिनुभएको छ । ०००००
 

प्रतिकृया दिनुहोस