इन्जिनियर लामिछानेको गाई–भैँसीपालनबाट मासिक १५ लाख रुपैयाँ बचत
गोरखा, ४ कात्तिक ।
गोरखाका सिभिल इन्जिनियर कुमार लामिछानेले काठमाडौंमा गाई तथा भैँसीपालन व्यवसायबाट मासिक १५ लाख रुपैयाँ बचत गर्दै आउनुभएको छ । मेहनत र लगनशीलताका साथ व्यवसाय सञ्चालन गर्नुभएका लामिछाने कृषि उद्यममार्फत सफलताको उदाहरण बन्नुभएको हो ।
गोरखाको सिरानचोक गाउँपालिका–७ खहरेका लामिछानेले २०७७ साल जेठमा काठमाडौंको नागार्जुन नगरपालिका–६ रामकोट, डाँडापौवामा क्षितिज एकीकृत कृषि फार्म स्थापना गरी व्यवसाय सुरु गर्नुभएको हो । उहाँले करिब १० करोड रुपैयाँ लगानी गरेर छ रोपनी जग्गा भाडामा लिई गाईभैँसीपालन गर्दै आउनुभएको छ ।
सुरुमा ३० वटा भैँसीबाट व्यवसाय थाल्नुभएका उहाँको फार्ममा अहिले २०० गाई र ५० भैँसी छन् । इन्जिनियरिङ पेसालाई निरन्तरता दिँदै जीवनसाथी इन्जिनियर सङ्गीताको सहयोगमा सात वर्षदेखि पशुपालन व्यवसायसमेत गर्दै आएको उहाँले बताउनुभयो ।
फार्मबाट दैनिक करिब एक हजार २०० लिटर दूध उत्पादन हुन्छ । उत्पादित दूधमध्ये केही दुग्ध विकास संस्थान र नमुना डेरीमा तथा बाँकी काठमाडौं उपत्यकाका विभिन्न डेरीमा बिक्री गरिन्छ ।
हाल भैँसीको दूध प्रतिलिटर १७० रुपैयाँ र गाईको दूध १०० रुपैयाँमा बिक्री हुँदै आएको छ । दूध बिक्रीबाट मासिक ४५ देखि ५० लाख रुपैयाँ आम्दानी हुने गरेको छ । खर्च कटाएर मासिक करिब १५ लाख रुपैयाँ बचत हुने लामिछानेले बताउनुभयो ।
फार्ममा प्रत्यक्ष तथा अप्रत्यक्ष रूपमा ५० जनाले रोजगारी पाएका छन् । गाईभैँसीका लागि पराल र दानामा बढी खर्च हुने गरेको उहाँको भनाइ छ । ००००

-(1).jpeg)









प्रतिकृया दिनुहोस