पूर्वराजा ज्ञानेन्द्रको दसैँ सन्देश : राष्ट्रिय एकता र स्वाभिमान बलियो बनाउन जोड
बिर्तामोड, ३० असोज ।
पूर्वराजा ज्ञानेन्द्र शाहले बडादसैँको शुभकामना सन्देश जारी गर्दै राष्ट्रिय एकता, आत्मनिर्भरता र राष्ट्रिय स्वाभिमानलाई बलियो बनाउनुपर्नेमा जोड दिनुभएको छ ।
निर्मल निवासबाट आज जारी सन्देशमा उहाँले यस वर्षको वर्षायाममा भोटेकोसी, बूढीगण्डकीलगायतका नदीमा आएको बाढी र अविरल वर्षाका कारण ठूलो जनधनको क्षति भएको उल्लेख गर्नुभएको छ । प्राकृतिक विपत्तिबाट उत्पन्न दुःख र पीडाबीच पनि नेपालीले आफ्नो धर्म, संस्कृति, परम्परा र रीतिरिवाजलाई निरन्तरता दिनुपरेको उहाँले बताउनुभएको छ ।
पूर्वराजा शाहले प्रकृतिको सन्तुलन र संरक्षणमा ध्यान दिनुपर्ने उल्लेख गर्दै विपत्तिबाट हुने क्षति न्यूनीकरणका लागि पूर्वतयारी, सावधानी र विवेकपूर्ण कदम आवश्यक रहेको बताउनुभएको छ । उहाँले शोकलाई शक्तिमा र निराशालाई आशामा बदल्दै अघि बढ्नुपर्नेमा जोड दिनुभएको छ ।
विपत्तिबाट क्षतिग्रस्त भौतिक संरचनाको पुनर्निर्माण र प्रभावित नागरिकको शीघ्र पुनःस्थापनालाई प्राथमिकतामा राख्नुपर्ने उहाँको भनाइ छ । साथै, बाह्य सहयोग लिँदा राष्ट्रिय स्वाभिमान र स्थानीय परम्पराको संरक्षण हुने गरी कूटनीतिक कुशलता अपनाउनुपर्नेमा पनि उहाँले जोड दिनुभएको छ ।









प्रतिकृया दिनुहोस