चक्रवात अर्नबबाट भारतमा ८९ हजार मानिस विस्थापित 

हैदराबाद, ११ कात्तिक ।
भारतको आन्ध्र प्रदेशको तटीय क्षेत्रमा चक्रवात अर्नबले प्रहार गरेपछि कम्तीमा ८९ हजार मानिसलाई सुरक्षित स्थानमा सारिएको छ । बुधबार बिहान तट पार गरेको चक्रवातका कारण तीव्र हावा र भारी वर्षा हुँदा जनजीवन प्रभावित भएको छ ।
राज्यको विपद् व्यवस्थापन प्राधिकरणका प्रमुख प्रखर जैनका अनुसार तटमा प्रवेश गर्नुअघि केही कमजोर भए पनि चक्रवातको हावाको गति प्रतिघण्टा १८५ किलोमिटरसम्म पुगेको थियो । यसले आन्ध्र प्रदेशका विभिन्न तटीय जिल्लामा भारीदेखि अति भारी वर्षा गराएको छ ।
भारतीय मौसम विभागले आन्ध्र प्रदेशको तटीय क्षेत्र र छिमेकी ओडिसाका केही भागमा भारी वर्षा र तीव्र हावा चल्ने चेतावनी दिएको छ । चक्रवात भित्री भागतर्फ अघि बढ्दै जाँदा क्रमशः कमजोर हुने अनुमान गरिएको छ । घटनामा मानवीय क्षति भएको विवरण भने तत्काल प्राप्त भएको छैन ।
चक्रवातको जोखिमलाई ध्यानमा राख्दै अधिकारीहरूले तटीय जिल्लामा उच्च सतर्कता अपनाएका छन् । तल्लो भूभागका बासिन्दालाई सुरक्षित स्थानमा सारिएको छ भने केही क्षेत्रमा रेल सेवा रद्द गरिएको छ ।
विपद् व्यवस्थापन प्राधिकरणका अनुसार चक्रवातको सम्भावित मार्गमा एक करोड २० लाखभन्दा बढी मानिस बसोबास गर्छन् । जोखिम न्यूनीकरणका लागि २० जिल्लामा दुई हजारभन्दा बढी आश्रयस्थल स्थापना गरिएका छन् ।
त्यस्तै, ३० हजारभन्दा बढी माछा मार्ने डुङ्गालाई सुरक्षित राखिएको छ भने आपत्कालीन सहायता उपलब्ध गराउन करिब एक हजार एक सय स्वास्थ्य टोली परिचालन गरिएको छ । छिमेकी ओडिसामा पनि जोखिममा रहेका करिब ४८ हजार मानिसलाई सुरक्षित स्थानमा सार्ने तयारी गरिएको छ । ०००००
 

प्रतिकृया दिनुहोस