इजरायलमा नयाँ सरकार गठनको अन्योल कायमै

बिर्तामोड, १२ कार्तिक । 
इजरायलमा संसदीय चुनावपछि नयाँ सरकार गठन गर्ने विषयमा राजनीतिक अन्योल कायमै छ । वर्तमान प्रधानमन्त्री बेन्जामिन नेतान्याहू नेतृत्वको गठबन्धन र विपक्षी गठबन्धन दुवैले स्पष्ट बहुमत प्राप्त गर्ने अवस्था नदेखिएपछि अरब नेतृत्वका राजनीतिक दल निर्णायक बन्न सक्ने देखिएका छन् ।
पछिल्लो प्रारम्भिक मतगणनाअनुसार १२० सदस्यीय संसद्मा नेतान्याहू नेतृत्वको गठबन्धनले ५३ र पूर्वसैन्य प्रमुख गादी आइजेनकोट नेतृत्वको विपक्षी गठबन्धनले ४८ सिट प्राप्त गर्ने अनुमान छ । अरब नेतृत्वका जोइन्ट लिस्ट र राआम दलले संयुक्त रूपमा १९ सिट पाउने अनुमान गरिएको छ । सरकार गठनका लागि कम्तीमा ६१ सिट आवश्यक पर्छ। यद्यपि, यी परिणाम अन्तिम भइसकेका छैनन् । जोइन्ट लिस्टका वरिष्ठ सांसद अहमद तिबीले नेतान्याहूलाई सत्ताबाट हटाएर वैकल्पिक सरकार गठन गर्ने विषयमा विपक्षीसँग वार्ता भइरहेको बताउनुभएको छ ।
अरब समुदायसँग सम्बन्धित अपराध नियन्त्रण, घर भत्काउने कार्य रोक्ने, पूर्वाधार विकास र घृणाजन्य गतिविधि नियन्त्रणजस्ता विषयमा प्रगति सुनिश्चित भएमा सहकार्य गर्न सकिने अरब दलहरूको भनाइ छ ।
अरब दलहरू सरकारमा प्रत्यक्ष सहभागी नभई संसद्मा समर्थन दिएर पनि नयाँ सरकार गठनमा भूमिका खेल्न सक्छन् । तर, उनीहरूसँग सहकार्य गर्ने विषयमा विपक्षी गठबन्धनभित्रै मतभेद देखिएको छ ।

प्रतिकृया दिनुहोस