धानखेती छाडेर सयपत्री फूलखेतीमा जुटे झापाका किसान
बिर्तामोड, १५ कार्तिक ।
झापाको बुद्धशान्ति गाउँपालिका–३ दुइरिङ्गेका तीन किसानले धानखेती छाडेर व्यावसायिक सयपत्री फूलखेती सुरु गर्नुभएको छ । विनोद रिजाल, गुणराज न्यौपाने र वीरबल बानियाँले १० कट्ठा जमिनमा सात हजारभन्दा बढी सयपत्रीका बिरुवा रोपेर पाँच लाख ५० हजार रुपैयाँ लगानी गर्नुभएको हो ।
धानखेती गर्दा वार्षिक करिब ५० हजार रुपैयाँको उत्पादन हुने उक्त जमिनबाट फूलखेतीमार्फत १० देखि १२ लाख रुपैयाँसम्मको कारोबार गर्ने उहाँहरूको लक्ष्य छ । ‘कृषि कम्पास’ समूह बनाएर सामूहिक रूपमा फूलखेती सुरु गर्नुभएका किसानले करिब १० हजार माला उत्पादन हुने अपेक्षा गरेका छन्। अहिले फूल टिप्ने, माला उन्ने र तयार माला चिस्यानयुक्त भण्डारणमा राख्ने काम भइरहेको छ ।
यस वर्षको अनुभव र बजारको मागलाई आधार मानेर आगामी वर्ष तीन बिघा क्षेत्रफलमा फूलखेती विस्तार गर्ने तयारी गरिएको समूहका सदस्य विनोद रिजालले बताउनुभयो । तर, भारतबाट फूल आयात हुँदा स्थानीय उत्पादनले बजार नपाउने चिन्ता किसानको छ । उनीहरूले स्वदेशी फूललाई प्राथमिकता दिन र अनधिकृत आयात नियन्त्रण गर्न माग गरेका छन् । किसानको अवस्था बुझ्न बुद्धशान्ति पुग्नुभएका झापाका प्रमुख जिल्ला अधिकारी श्रवणकुमार पोखरेलले स्थानीय उत्पादनले बजारको माग धान्न सक्ने भए बाहिरबाट हुने आयात नियन्त्रण गर्न सकिने बताउनुभयो । जिल्लामा व्यावसायिक फूलखेतीप्रति किसानको आकर्षण बढ्दै गएकाले झापा फूल उत्पादनमा आत्मनिर्भर बन्न सक्ने सम्भावना रहेको छ ।







.jpeg)



प्रतिकृया दिनुहोस