नेपाली कांग्रेस झापाको सभापतिमा कृष्ण हुमागाई निर्विरोध निर्वाचित
विर्तामोड, १५ कात्तिक ।
नेपाली कांग्रेस झापाको १५औँ नियमित महाधिवेशनअन्तर्गत बिर्तामोडस्थित अग्रसेन भवनमा सम्पन्न जिल्ला अधिवेशनबाट कृष्ण हुमागाई जिल्ला सभापतिमा निर्विरोध निर्वाचित हुनुभएको छ ।
यसअघि जिल्ला सचिवको जिम्मेवारी सम्हाल्नुभएका हुमागाईले कोशी प्रदेश सम्मेलन, राष्ट्रिय सम्मेलन, जिल्ला अधिवेशन तयारी समिति तथा आयोजक समितिको संयोजकका रूपमा काम गरिसक्नुभएको छ । १४औँ महाधिवेशनमा कृष्णप्रसाद सिटौलाको समूहबाट जिल्ला सचिवमा निर्वाचित हुमागाई र सहसचिव कालेन्द्र राजवंशीबाहेक अन्य पदाधिकारी विश्वप्रकाश शर्मा समूहमा आबद्ध भएका थिए । उक्त महाधिवेशनमा झापा जिल्ला कार्यसमितिका सबै पदमा सिटौला समूह विजयी भएको थियो ।
हुमागाईले यसअघि जिल्ला सदस्य, महाधिवेशन प्रतिनिधि तथा जिल्ला प्रचार विभाग प्रमुखको जिम्मेवारीसमेत सम्हालिसक्नुभएको छ । उहाँ नेपाल प्रेस युनियनको केन्द्रीय सदस्य तथा झापा जिल्ला अध्यक्ष र नेपाल पत्रकार महासंघ झापा शाखाको सभापति पनि भइसक्नुभएको छ ।
लामो समय पत्रकारितामा सक्रिय उहाँले विभिन्न सञ्चारमाध्यममा संवाददातादेखि प्रधानसम्पादकसम्मको जिम्मेवारी निर्वाह गर्नुभएको छ ।
प्रेस तथा अभिव्यक्ति स्वतन्त्रताको आन्दोलनका क्रममा पटक–पटक हिरासतमा पर्नुभएका हुमागाईले २०६१ साल माघ १९ गते तत्कालीन राजा ज्ञानेन्द्र शाहले शासनसत्ता आफ्नो हातमा लिएपछि कांग्रेस नेता कृष्णप्रसाद सिटौलासँगै तीन महिना भारतमा निर्वासित जीवन बिताउनुभएको थियो । निर्वासनका क्रममा पनि उहाँले नेपालको प्रेस स्वतन्त्रता र मानव अधिकारको अवस्थाबारे अन्तर्राष्ट्रिय सञ्चारमाध्यममार्फत आवाज उठाउनुभएको थियो । ०००००००







.jpeg)


प्रतिकृया दिनुहोस