विराटनगरमा राति १० बजेभित्र होटल तथा मनोरञ्जन व्यवसाय बन्द गर्नुपर्ने प्रशासनको निर्णय
विराटनगर, १६ कात्तिक ।
जिल्ला प्रशासन कार्यालय मोरङले विराटनगरका होटल, रेस्टुराँ, डान्सबार तथा मनोरञ्जनात्मक व्यवसाय राति १० बजेभित्र बन्द गर्नुपर्ने निर्णय गरेपछि यसको विरोध सुरु भएको छ । कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले प्रशासनको निर्णयप्रति असहमति जनाउँदै नागरिक र पर्यटकलाई चौबिसै घण्टा सेवा र सुरक्षा दिनुपर्ने बताउनुभएको छ ।
जिल्ला प्रशासन कार्यालयले रात्रिकालीन व्यवसायलाई व्यवस्थित र मर्यादित बनाउन एक महिनाभित्र एकीकृत मापदण्ड बनाउने निर्णय गरेको छ । मापदण्ड लागू नहुँदासम्म होटल तथा व्यवसायका सञ्चालकले राति १० बजेभित्र प्रवेशद्वार बन्द गर्नुपर्ने र साढे १० बजेसम्म सबै ग्राहकलाई परिसरबाट बिदा गरिसक्नुपर्ने व्यवस्था गरिएको छ ।
प्रशासनले सहायक प्रमुख जिल्ला अधिकारीको संयोजकत्वमा प्रहरी, सशस्त्र प्रहरी, उद्योग वाणिज्य संघ, स्थानीय तह र होटल व्यवसायीका प्रतिनिधि सम्मिलित अनुगमन समिति पनि गठन गरेको छ ।
निर्णयमा ध्वनि प्रदूषण नियन्त्रण, कम्तीमा ३० दिनको अभिलेख रहने गरी सीसीटीभी जडान, कर्मचारीलाई नियुक्तिपत्र र न्यूनतम पारिश्रमिकको व्यवस्था, जोखिम बिमा तथा राति काम गर्ने महिला कर्मचारीका लागि सुरक्षित यातायात र खानाको प्रबन्ध गर्नुपर्ने सर्तसमेत राखिएको छ ।
मुख्यमन्त्री कार्कीले भने विराटनगरजस्तो प्रमुख सहरमा राति १० बजे नै सबै व्यवसाय बन्द गराउनु उपयुक्त नभएको बताउनुभएको छ । उहाँले राति अबेरसम्म विमानस्थलमा हुने उडान तथा सडक यातायातबाट आउने पर्यटकलाई सेवा दिनुपर्ने उल्लेख गर्नुभएको छ ।
राज्यले नागरिक र पर्यटकको धनजनको सुरक्षा गर्ने जिम्मेवारीबाट उम्किन नमिल्ने भन्दै मुख्यमन्त्री कार्कीले प्रशासनलाई निर्णय गर्नुअघि देशको प्रतिष्ठा, पर्यटन क्षेत्र र व्यवसायमा पर्ने प्रभावबारे गम्भीर हुन आग्रह गर्नुभएको छ । ०००००








.jpeg)


प्रतिकृया दिनुहोस