विरोध प्रदर्शनपछि बङ्गलादेशमा गार्मेन्ट कामदारको तलब बढाउन सहमति

काठमाडौं, १८ कात्तिक । 
बङ्गलादेशको गार्मेन्ट उद्योगसम्बन्धी ज्याला बोर्डले पाँच दिनदेखि जारी विरोध प्रदर्शन र छिटपुट झडपपछि कामदारको न्यूनतम तलब बढाउन सहमति जुटेको जनाएको छ ।
सत्र करोड जनसङ्ख्या भएको बङ्गलादेश चीनपछि विश्वकै दोस्रो ठूलो तयारी पोसाक निर्यातकर्ता मुलुक हो । यहाँ विश्वका चर्चित ब्रान्डका लागि कपडा उत्पादन गरिन्छ ।
गार्मेन्ट क्षेत्रमा ४० लाखभन्दा बढी मानिस कार्यरत छन् । तर, न्यून तलब, कमजोर कार्य वातावरण र श्रमिक अधिकारसम्बन्धी लामो समयदेखिका विवादले यस क्षेत्रको विकासमा चुनौती थप्दै आएका छन् ।
गत शनिबारदेखि हजारौँ गार्मेन्ट कामदार तलब वृद्धिको माग गर्दै प्रदर्शनमा उत्रिएका छन् । प्रदर्शनका क्रममा केहीले इँटा प्रहार गर्नुका साथै सडक अवरुद्ध गरेका छन् भने प्रहरीले भीड नियन्त्रण गर्न अश्रुग्यास प्रहार गरेको छ ।
ज्याला बोर्डमा कामदारका प्रतिनिधि बाबुल अख्तरले कामदारहरूले डिसेम्बरभित्रै तलब वृद्धि गर्ने निर्णय गर्न माग गरेको बताउनुभयो । यसो भए जनवरीदेखि परिमार्जित तलब पाउन सकिने उहाँको भनाइ छ ।
“ज्याला बोर्डमा रहेका कारखाना मालिकका प्रतिनिधि पनि यसमा सहमत भएका छन् । हामी यस विषयमा सहमतिमा पुगेका छौँ र मिलेर काम गरिरहेका छौँ,” उहाँले भन्नुभयो ।
बङ्गलादेशमा मुद्रास्फीति आठ प्रतिशतको हाराहारीमा रहेकाले खाद्यान्न, आवास, यातायात र स्वास्थ्य सेवाको मूल्यवृद्धिले कामदारको क्रयशक्ति घटाएको छ ।
कामदारहरूले हालको मासिक न्यूनतम तलब १२ हजार ५०० टाकाबाट बढाएर ३० हजार टाका (करिब २४० अमेरिकी डलर) पु¥याउन माग गरेका छन् । यो हालको न्यूनतम तलबभन्दा १४० प्रतिशत बढी हो ।
सरकारले तलब वृद्धिसम्बन्धी विषयमा वार्ता गर्न रोजगारदाता र कामदारका प्रतिनिधि सम्मिलित ज्याला बोर्ड आइतबार गठन गरेको थियो । यद्यपि, तलब कति बढाउने भन्नेबारे सहमति भइसकेको छैन । ०००००
 

प्रतिकृया दिनुहोस