बङ्गलादेश र चीनबीच आर्थिक सहयोग विस्तार गर्ने समझदारी
ढाका, १९ कात्तिक ।
बङ्गलादेश र चीनबीच पूर्वाधार, यातायात, ऊर्जा, उद्योगलगायतका क्षेत्रमा लगानी तथा आर्थिक सहकार्य विस्तार गर्ने समझदारीपत्रमा हस्ताक्षर भएको छ ।
बङ्गलादेशका प्रधानमन्त्री तारिक रहमानको उपस्थितिमा आज बागेरहाटको मोङ्गलामा उक्त समझदारीपत्रमा हस्ताक्षर गरिएको हो ।
बङ्गलादेशको इन्भेस्ट बङ्गलादेश र चीनको चाइना रेलवे कन्स्ट्रक्सन कर्पोरेसनबीच भएको समझदारीअनुसार पूर्वाधार, यातायात, रसद, उद्योग, ऊर्जा, वातावरण तथा सीप विकासका क्षेत्रमा लगानीका अवसर विस्तार गरिनेछ ।
हस्ताक्षरपछि प्रधानमन्त्री रहमानले चिनियाँ प्रतिनिधिमण्डलसँग छलफल गर्दै बङ्गलादेशमा थप लगानी भित्र्याउन आग्रह गर्नुभयो । उहाँले मोङ्गलामा थप औद्योगिक कारखाना स्थापना गर्ने सरकारको योजना रहेको उल्लेख गर्दै बन्दरगाहदेखि देशको उत्तरी क्षेत्रसम्म आर्थिक गतिविधि विस्तार गर्न विद्युत् र ग्यास आपूर्ति सुनिश्चित गर्ने पूर्वाधार निर्माणलाई तीव्रता दिइने बताउनुभयो ।
प्रधानमन्त्री रहमानले बङ्गलादेशको आर्थिक विकासमा योगदान पु¥याएकोमा चिनियाँ लगानीकर्तालाई धन्यवादसमेत दिनुभयो ।
यसैबीच, प्रधानमन्त्री रहमानको मोङ्गला भ्रमणका क्रममा बन्दरगाह विस्तार तथा आधुनिकीकरण परियोजनाअन्तर्गत दुईवटा कन्टेनर जेटी निर्माण र सम्बन्धित पूर्वाधार विकास कार्यको शिलान्यास गर्ने कार्यक्रमसमेत रहेको छ ।
दुवै देशबीचको सहकार्यले बङ्गलादेशको आर्थिक विकास र औद्योगिक विस्तारमा योगदान पुग्ने विश्वास गरिएको छ । ०००००









.jpeg)


प्रतिकृया दिनुहोस