हराउँदै ‘फेरी’को भाका, अर्जुन जोगी परम्परा जोगाउँदै 

भोजपुर, २० कात्तिक । 
आधुनिक जीवनशैली र बदलिँदो सामाजिक परिवेशका कारण परम्परागत ‘फेरी’ लगाउने चलन लोप हुने अवस्थामा पुगेको छ । यस्तो अवस्थामा भोजपुरका अर्जुन जोगी भने आफ्नो पुख्र्यौली पेसा र संस्कृति संरक्षणमा जुट्नुभएको छ ।
भोजपुरको अरुण गाउँपालिका–१ याङपाङ निवासी जोगीले विगत दुई दशकदेखि कात्तिक, चैत र साउन महिनामा गाउँघर डुलेर रातको समयमा फेरी लगाउँदै आउनुभएको छ । उहाँ एक महिनामा २० देखि २५ दिनसम्म गाउँबस्ती पुग्ने गर्नुहुन्छ ।
परम्परागत मान्यताअनुसार फेरी लगाउँदा घरपरिवारमा सुख, शान्ति, समृद्धि र कल्याण हुने विश्वास गरिन्छ । फेरी लगाउन घरघर पुग्ने जोगीलाई स्थानीयवासीले चामल, धान, मकै, कोदो तथा नगद दिने परम्परा छ । 
जोगीका अनुसार कुनै समय याङपाङमा १८ देखि २० घरपरिवारले फेरी लगाउने पेसा अपनाएका थिए । तर, अहिले यो पेसा गर्नेको सङ्ख्या घटेर दुई जनामा सीमित भएको छ ।
नयाँ पुस्ता परम्परागत पेसाबाट टाढिँदै गएकोप्रति चिन्ता व्यक्त गर्दै उहाँले पुर्खाले चलाउँदै आएको मौलिक संस्कृति र परम्परा जोगाउन आफूले निरन्तरता दिएको बताउनुभयो । नयाँ पुस्तालाई यसको धार्मिक, सांस्कृतिक र सामाजिक महत्व बुझाउन सके मात्रै फेरी लगाउने परम्परा जोगाउन सकिने उहाँको भनाइ छ । ०००००
 

प्रतिकृया दिनुहोस