विद्यालयका बालबालिकालाई एआई साक्षरता प्रमाणपत्र दिने इयूको योजना

ब्रसेल्स, २० कात्तिक ।
युरोपेली सङ्घ (इयू) ले विद्यालयका बालबालिकालाई कृत्रिम बुद्धिमत्ता अर्थात् एआईबारे जानकारी र सीप प्रदान गर्न ‘एआई साक्षरता’ प्रमाणपत्र कार्यक्रम परीक्षण गर्ने भएको छ ।
प्रविधिको तीव्र विकाससँगै शिक्षामा परेको प्रभावलाई सम्बोधन गर्ने उद्देश्यले इयूले यस्तो योजना अघि सारेको हो ।
युरोपेली आयोगकी उपाध्यक्ष रोक्साना मिन्जाटुका अनुसार यस कार्यक्रमले विद्यार्थीलाई एआई कसरी काम गर्छ भन्ने बुझ्न, त्यसले दिने जानकारीको सत्यता जाँच्न, भ्रामक सामग्री पहिचान गर्न र आवश्यक पर्दा एआईको प्रयोग रोक्न सिकाउनेछ ।
ब्रसेल्सले १५ वर्ष उमेरका विद्यार्थीलाई लक्षित गरी सन् २०२७÷२८ शैक्षिक सत्रदेखि नयाँ कार्यक्रम सञ्चालन गर्ने लक्ष्य राखेको छ ।
कक्षाकोठामा कृत्रिम बुद्धिमत्ताको प्रयोग बढ्दै गएको र त्यसले शिक्षामा पार्ने प्रभावबारे बहस भइरहेका बेला इयूले यस्तो पहल गरेको हो ।
इयूले आफ्ना २७ सदस्य राष्ट्रको शिक्षा नीतिमाथि प्रत्यक्ष नियन्त्रण नगरे पनि बालबालिकालाई सुरक्षित रूपमा एआई प्रयोग गर्न सिकाउने प्रयासलाई समर्थन गर्दै आएको छ ।
यसैबीच, इयूले किशोरकिशोरीको सामाजिक सञ्जाल प्रयोगमा सीमा लगाउने कानुनी पहलसमेत अघि बढाइरहेको छ । आयोगकी उपाध्यक्ष मिन्जाटुले एआईलाई शिक्षण र व्यक्तिगत सिकाइमा उपयोग गर्नु तथा सामाजिक सञ्जालका लत लाग्ने एल्गोरिदम नियन्त्रण गर्नु फरक विषय भएको स्पष्ट पार्नुभएको छ । ०००००
 

प्रतिकृया दिनुहोस