स्थानीय निर्वाचन वैशाखमा र प्रदेश सदस्यको मंसिरमा गर्ने निार्वाचन आयोगको प्रस्ताव 

काठमाडौं, ४ मंसिर ।
निर्वाचन आयोगले स्थानीय तहको निर्वाचन आगामी वैशाखमा र प्रदेशसभा निर्वाचन मंसिरमा गर्ने प्रस्ताव गरेको छ ।
आयोगले आज राष्ट्रिय मान्यताप्राप्त राजनीतिक दलका शीर्ष नेताहरूसँग गरेको छलफलमा निर्वाचनको प्रस्तावित तालिका प्रस्तुत गरेको हो ।
छलफलमा राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने, नेपाली कांग्रेसका सभापति गगन थापा र नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल प्रचण्ड सहभागी हुनुभएको थियो । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली पनि आयोग पुग्नुभएको थियो । तर, उहाँले पार्टीका निर्वाचन विभाग प्रमुख देवेन्द्र दाहाललाई छलफलमा सहभागी गराएर बाहिरिनुभएको थियो । 
छलफलका क्रममा नेकपा संयोजक प्रचण्डले स्थानीय तहको निर्वाचन वैशाखमा र प्रदेशसभा निर्वाचन मंसिरमा गर्ने आयोगको प्रस्ताव उपयुक्त देखिएको बताउनुभएको छ । प्रचण्डको सचिवालयका अनुसार उहाँले प्रस्तावित समयतालिकाबारे पार्टीभित्र थप छलफल र अध्ययन गरेर अन्तिम धारणा बनाउने बताउनुभएको छ ।
यसअघि २०७९ साल वैशाख ३० गते स्थानीय तह र मंसिर ४ गते प्रदेशसभा निर्वाचन भएको थियो । उक्त निर्वाचनबाट निर्वाचित स्थानीय तहका जनप्रतिनिधिको पाँचवर्षे कार्यकाल आगामी २०८४ साल वैशाख ३० गते सकिँदैछ ।
स्थानीय तहको कार्यकाल सकिन करिब पाँच महिना बाँकी रहेकाले निर्वाचन आयोगले आगामी निर्वाचनको तयारी र समयतालिकाबारे राजनीतिक दलहरूसँग छलफल अघि बढाएको हो । ०००००
 

प्रतिकृया दिनुहोस