महिला उद्यमी सन्ध्या पौडेल चप्पल बनाउने सीप सिकाउँदै 

दाङ, ५ मंसिर । 
दाङको तुलसीपुरकी सन्ध्या पौडेल महिलालाई चप्पल बनाउने सीप सिकाउँदै आत्मनिर्भर बनाउन सक्रिय हुनुहुन्छ । तुलसीपुर उपमहानगरपालिका–७ घुसेरीकी ४२ वर्षीया पौडेलले तुलसीपुर–६ बरुवा गाउँमा सञ्चालन गरेको ‘सन्ध्या लेडिज चप्पल तालिम केन्द्र’मार्फत महिलालाई सीप प्रदान गर्दै आउनुभएको छ ।
गत वर्षदेखि सञ्चालनमा आएको तालिम केन्द्रबाट हालसम्म दुई सयभन्दा बढी महिलाले चप्पल बनाउने सीप सिकिसकेका छन्। उहाँले समूह बनाएर प्रतिव्यक्ति तीन हजार पाँच सयदेखि पाँच हजार रुपैयाँसम्म शुल्क लिएर तालिम दिँदै आउनुभएको छ । तालिममा महिलाले प्रयोग गर्ने चप्पल, जुत्ता, स्यान्डल तथा बेहुली चप्पल बनाउन सिकाइन्छ । तालिम लिएका महिलाले आफ्नै ठाउँमा व्यवसाय सञ्चालन गरी आम्दानी गर्न सक्ने पौडेलको भनाइ छ ।
उहाँका अनुसार तालिम लिएका पाँच महिलाले तुलसीपुर बसपार्क, दाङको बबई गाउँपालिका–हंसपुर, सल्यान र रोल्पालगायतका स्थानमा चप्पल उत्पादन तथा बिक्री गर्ने पसल सञ्चालन गरिसकेका छन् ।
तालिमसँगै पौडेलले तुलसीपुर बजारमा चप्पल बिक्री गर्ने पसलसमेत सञ्चालन गर्नुभएको छ । उहाँले तीजदेखि दशैँ–तिहारसम्मको अवधिमा दुई लाख रुपैयाँसम्मका जुत्ता चप्पल बिक्री गरेको जानकारी दिनुभयो। मेहनत र लगनशीलताका साथ काम गरे तीन महिनामै दुई लाख रुपैयाँसम्म आम्दानी गर्न सकिने उहाँको अनुभव छ ।
चप्पल उद्योगका लागि आवश्यक कच्चा पदार्थ नेपालगञ्ज, बुटवल र काठमाडौँबाट ल्याउने गरिएको छ । थोरै लगानीबाटै व्यवसाय सुरु गर्न सकिने भएकाले महिलाका लागि यो सीप उपयोगी रहेको उहाँले बताउनुभएको छ ।
पौडेलको उद्यमशीलता चप्पल बनाउने तालिममा मात्र सीमित छैन । उहाँले २०७८ सालदेखि सर्फ, साबुन, बाटेको धूप, अगरबत्ती र सरसफाइका सामग्री बनाउने तालिमसमेत प्रदान गर्दै आउनुभएको छ ।
स्थानीय तहसँगको समन्वयमा सञ्चालन भएका सीपमूलक तालिमबाट आफू पनि लाभान्वित भएको बताउँदै उहाँले सीपलाई उत्पादन र स्वरोजगारसँग जोडेर महिलालाई आर्थिक रूपमा आत्मनिर्भर बनाउने अभियानलाई निरन्तरता दिइरहनुभएको छ । ०००००

प्रतिकृया दिनुहोस