कन्याममा आजदेखि सूर्योदय चिया महोत्सव सुरु
कन्याम, ५ मंसिर ।
इलामको पर्यटकीय क्षेत्र कन्याममा आजदेखि दुई दिने प्रथम सूर्योदय चिया महोत्सव–२०८३ सुरु हुँदैछ । चिया पर्यटन प्रवद्र्धन गर्ने र निर्माणाधीन चिया पदमार्गको प्रचारप्रसार गर्ने उद्देश्यले महोत्सव आयोजना गरिएको हो ।
सूर्योदय नगरपालिका, कोशी प्रदेश सरकार र पदमार्गमा आधारित पर्यटन विकास परियोजनाको साझेदारीमा आयोजना हुने महोत्सवको उद्घाटन कोशी प्रदेशका पर्यटन, वन तथा वातावरणमन्त्री खिनु लङ्वा लिम्बूले गर्ने कार्यक्रम छ ।
महोत्सव आयोजकका अनुसार आन्तरिक तथा बाह्य गरी १० हजारभन्दा बढी पर्यटक भित्र्याउने लक्ष्य राखिएको छ । महोत्सवमा चियासम्बन्धी अन्तरसंवाद, चिया प्रदर्शनी तथा स्वाद परीक्षण, चियाबारी पदयात्रा, स्थानीय खानाका परिकार र सांस्कृतिक कार्यक्रम सञ्चालन हुनेछन् ।
त्यस्तै, पुरुष र महिलातर्फ छुट्टाछुट्टै टि ट्रेल रेस प्रतियोगिता पनि आयोजना गरिनेछ । पुरुषतर्फ १२ दशमलव पाँच किलोमिटर र महिलातर्फ नौ किलोमिटर दौड हुनेछ । पुरुषतर्फ प्रथम, द्वितीय र तृतीय हुनेले क्रमशः ३० हजार, २० हजार र १० हजार रुपैयाँ पुरस्कार पाउनेछन् । महिलातर्फ प्रथम हुनेले २० हजार, द्वितीयले १० हजार र तृतीयले पाँच हजार रुपैयाँ प्राप्त गर्नेछन् ।
सूर्योदय नगरपालिका–७ कन्यामदेखि वडा नम्बर ५ श्रीअन्तुसम्म २५ दशमलव पाँच किलोमिटर लामो चिया पदमार्ग निर्माण भइरहेको छ । सूर्योदय नगरपालिका, कोशी प्रदेश सरकार र स्वीस सरकारको सहयोगमा सञ्चालित परियोजनाअन्तर्गत निर्माण भइरहेको पदमार्गको प्रचारप्रसार पनि महोत्सवको मुख्य उद्देश्य रहेको छ ।
महोत्सव सञ्चालनका लागि करिब १५ लाख रुपैयाँ खर्च हुने अनुमान गरिएको छ । हरियाली चियाबारी र प्राकृतिक सौन्दर्यका कारण चर्चित कन्याम मेची राजमार्गसँग जोडिएको इलामको प्रमुख पर्यटकीय गन्तव्य हो । पछिल्लो महोत्सवले चिया उत्पादनसँगै यस क्षेत्रको पर्यटन प्रवद्र्धनमा समेत योगदान पुग्ने अपेक्षा गरिएको छ । ०००००











प्रतिकृया दिनुहोस