झापामा १२ अर्ब रुपैयाँको पेट्रोलियम पाइपलाइन र भण्डारण टर्मिनल निर्माण सुरु
झापा, ७ मङ्सिर ।
नेपालको दोस्रो अन्तरदेशीय पेट्रोलियम पाइपलाइन सिलिगुडी–झापा पेट्रोलियम पाइपलाइन तथा ग्रिनफिल्ड टर्मिनल परियोजनाको शिलान्यास गरिएको छ ।
प्रधानमन्त्री बालेन्द्र शाह र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले भारतको नयाँदिल्लीबाट भर्चुअल माध्यममार्फत रिमोट थिचेर संयुक्त रूपमा परियोजनाको शुभारम्भ गर्नुभएको हो ।
नेपाल र भारत सरकारबीचको सरकार–सरकार सम्झौताअन्तर्गत भारतको शतप्रतिशत अनुदान तथा इन्डियन आयल कर्पोरेसनको प्राविधिक सहयोगमा निर्माण हुने परियोजनाको लागत करिब १२ अर्ब रुपैयाँ अनुमान गरिएको छ । निर्माण सुरु भएको मितिले ५४ महिनाभित्र आयोजना सम्पन्न गर्ने लक्ष्य राखिएको परियोजना प्रमुख सुरेन्द्र महतोले जानकारी दिनुभयो ।
कुल ४९ दशमलव ६ किलोमिटर लामो पाइपलाइनमध्ये भारततर्फ ३५ किलोमिटर र नेपालतर्फ १४ दशमलव ६ किलोमिटर रहनेछ । भारतको सिलिगुडीबाट सुरु हुने पाइपलाइन मेची पुल नजिकैबाट नेपाल प्रवेश गरी मेचीनगरका विभिन्न वडा हुँदै चारआलीस्थित प्रस्तावित भण्डारण टर्मिनलमा पुग्नेछ ।
चारआलीमा निर्माण हुने टर्मिनलको भण्डारण क्षमता ३२ हजार ८०० किलोलिटर रहनेछ । परियोजनाका अनुसार यसमा ३२ हजार २०० किलोलिटर डिजेल र ६ हजार ६०० किलोलिटर पेट्रोल भण्डारण गरिनेछ ।
पाइपलाइन जमिनमुनि कम्तीमा एक दशमलव दुई मिटर गहिराइमा बिछ्याइनेछ । इन्धन चुहावट नियन्त्रण र सुरक्षाका लागि अत्याधुनिक स्काडा प्रणाली तथा फाइबर अप्टिक प्रविधि जडान गरिनेछ ।
त्यस्तै, नदी तथा जलचरको प्राकृतिक वातावरणमा असर नपरोस् भन्नका लागि मेची, निन्दा, हडिया र फुलबासा लगायतका नदी पार गर्दा विशेष प्रविधि अपनाइने परियोजनाले जनाएको छ ।
नेपाल आयल निगमले पाइपलाइन मार्ग र भण्डारण टर्मिनलका लागि आवश्यक जग्गा व्यवस्थापन गरिसकेको छ । चारआलीमा २३ बिघा तीन कट्ठा १३ धुर जग्गा व्यवस्थापन गरी फिल्ड कार्यालयसमेत सञ्चालनमा ल्याइसकिएको परियोजना प्रमुख महतोले बताउनुभयो ।
यो परियोजनासम्बन्धी सहमति २०८० जेठमा तत्कालीन प्रधानमन्त्री पुष्पकमल दाहालको भारत भ्रमणका क्रममा भएको थियो । त्यसपछि २०८१ असोजमा नेपाल आयल निगम र इन्डियन आयल कर्पोरेसनबीच निर्माणसम्बन्धी औपचारिक सम्झौता भएको थियो ।
परियोजना सम्पन्न भएपछि पेट्रोलियम पदार्थको ढुवानी सहज हुनुका साथै भण्डारण क्षमता वृद्धि, ढुवानी लागत न्यूनीकरण र इन्धन आपूर्ति प्रणाली थप सुरक्षित तथा व्यवस्थित हुने अपेक्षा गरिएको छ । ०००००


..jpeg)

.png)







प्रतिकृया दिनुहोस