चार सय तीर्थयात्री जनकपुरधाममा आएपछि भव्य स्वागत
जनकपुरधाम, ८ मङ्सिर ।
अयोध्या र जनकपुरधामबीचको धार्मिक तथा सांस्कृतिक सम्बन्धलाई थप प्रगाढ बनाउने उद्देश्यले सञ्चालन भएको रेल सेवामार्फत आएका करिब चार सय भारतीय तीर्थयात्रीलाई जनकपुरधाममा भव्य स्वागत गरिएको छ ।
नेपाल रेल्वे कम्पनीले जनकपुरधाम रेल्वे स्टेसनमा आयोजना गरेको स्वागत कार्यक्रममा युवा, श्रम तथा रोजगारमन्त्री रामजी यादव र मधेस प्रदेशका मुख्यमन्त्री सरोजकुमार यादवले तीर्थयात्रीलाई स्वागत गर्नुभयो ।
कार्यक्रममा मन्त्री यादवले जनकपुरधाम र अयोध्याबीचको सम्बन्ध यातायातमा मात्र सीमित नभई धार्मिक, सांस्कृतिक र पारिवारिक आत्मीयतासँग जोडिएको बताउनुभयो । उहाँले रेल सेवाले धार्मिक पर्यटन प्रवद्र्धनका साथै व्यापार, रोजगारी र स्थानीय उद्यमशीलताका अवसरसमेत सिर्जना गर्ने विश्वास व्यक्त गर्नुभयो ।
मुख्यमन्त्री यादवले रेल सम्पर्क विस्तारले नेपाल–भारतबीचको यातायात सहकार्य, धार्मिक पर्यटन र आर्थिक विकासलाई गति दिने बताउनुभयो । जानकी मन्दिरका उत्तराधिकारी महन्त रामरोशन दासले भगवान् श्रीराम र माता सीताको सम्बन्धले जोडिएका दुई धार्मिक नगरीलाई रेलमार्गले जोड्नु ऐतिहासिक उपलब्धि भएको उल्लेख गर्नुभयो ।
नेपाल रेल्वे कम्पनीका प्रबन्ध सञ्चालक परिवेश पराजुलीका अनुसार १७ वटा डब्बासहितको सरयू–कमला एक्सप्रेस आज बिहान ९ बजेर १५ मिनेटमा जनकपुरधाम आइपुगेको थियो । रेलमा आएका तीर्थयात्री तथा भारतीय रेल्वेका प्रतिनिधिलाई खादामाला लगाएर स्वागत गरिएको थियो ।
तीर्थयात्रीका लागि सांस्कृतिक कार्यक्रमका साथै जानकी मन्दिरलगायत धार्मिकस्थलमा पूजाआजा र दर्शनको व्यवस्था मिलाइएको थियो । स्वागत तथा धार्मिकस्थलको दर्शनपछि उहाँहरूलाई आजै भारत फर्काइने नेपाल रेल्वे कम्पनीले जनाएको छ ।
नेपाल र भारत सरकारको सहयोगमा आधुनिक ब्रोडगेज रेलमार्ग निर्माण भएपछि सन् २०२२ मा जयनगर–कुर्था रेल सेवा पुनः सञ्चालनमा आएको थियो । त्यसको एक वर्षपछि कुर्थादेखि भङ्गहा–बिजलपुरासम्म सेवा विस्तार गरिएको थियो । ०००००











प्रतिकृया दिनुहोस