१०औँ राष्ट्रिय खेलकुदका ३२ खेलको प्रतियोगितास्थल सार्वजनिक
बिर्तामोड, ६ मंसिर ।
आगामी मङ्सिर १६ देखि २७ गतेसम्म सञ्चालन हुने १०औँ राष्ट्रिय खेलकुद प्रतियोगिताका ३२ खेलको प्रतियोगितास्थल सार्वजनिक गरिएको छ । राष्ट्रिय खेलकुद परिषद्ले सार्वजनिक गरेको विवरणअनुसार अधिकांश खेल कर्णाली प्रदेशका विभिन्न जिल्लामा सञ्चालन हुनेछन् ।
परिषद्का सदस्य सचिव रामचरित्र मेहत्ताका अनुसार एथ्लेटिक्स, महिला तथा पुरुष क्रिकेट, ह्यान्डबल, बास्केटबल, रग्बी, हक्की, भलिबल, कबड्डीलगायत २२ खेल सुर्खेतमा आयोजना हुनेछन् । त्यस्तै, जुडो र कुस्ती सल्यान, महिला तथा पुरुष फुटबलको सेमिफाइनल र फाइनल जुम्ला, आईटीएफ तेक्वान्दो दैलेख, बुद्धिचाल कालीकोट र शारीरिक सुगठन पश्चिम रुकुममा सञ्चालन हुनेछ ।
यसैगरी, पौडी र सुटिङ नेपालगञ्ज तथा टेनिस र महिला तथा पुरुष खो–खो बर्दियामा आयोजना गरिनेछ ।
प्रतियोगिताका केही खेल मङ्सिर ८ गतेदेखि नै सुरु हुनेछन् । तर, औपचारिक उद्घाटन भने मङ्सिर १६ गते गरिनेछ ।
आयोजकका अनुसार प्रतियोगितामा ६ हजार खेलाडी र तीन हजार अफिसियल्स गरी करिब नौ हजार जनाको सहभागिता रहनेछ । कर्णाली प्रदेश खेलकुद विकास परिषद्का सदस्य सचिव रवीन्द्र चन्दले प्रतियोगिताको तयारी अन्तिम चरणमा पुगेको जानकारी दिनुभएको छ । प्रतियोगिता व्यवस्थित बनाउन मूल समारोह समितिसहित १४ वटा समिति गठन गरिएको उहाँले बताउनुभयो । ०००००









प्रतिकृया दिनुहोस