वैशाखमा स्थानीय र मंसिरमा प्रदेशको चुनाव हुनुपर्ने एमाले अध्यक्ष ओलीको धारणा
काठमाडौं, १० मंसिर ।
नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आगामी वैशाखमा स्थानीय तह र मङ्सिरमा प्रदेशको निर्वाचन हुनुपर्ने बताउनुभएको छ ।
विभिन्न सञ्चारमाध्यमका सम्पादकहरूसँग आज काठमाडौंमा भएको भेटघाटमा उहाँले संविधान र कानुनअनुसार देश सञ्चालन हुनुपर्ने बताउनुभयो ।
पाँच वर्षका लागि निर्वाचित जनप्रतिनिधिले आफ्नो पूरा कार्यकाल काम गर्न पाउनुपर्ने उहाँको भनाइ छ । संविधान र कानुन मिच्ने छुट कसैलाई नभएको भन्दै अध्यक्ष ओलीले लोकतन्त्रमा निर्वाचन खर्चिलो भयो भनेर चुनाव टार्न नमिल्ने बताउनुभयो ।
निर्वाचनमा खर्च हुने रकमको बहाना बनाएर लोकतान्त्रिक प्रक्रिया रोक्न नहुने उहाँको तर्क छ । अध्यक्ष ओलीले पटकपटक निर्वाचन गराउँदा खर्च बढ्ने भए प्रदेश र सङ्घीय संसद्को निर्वाचन एकैपटक आगामी मङ्सिरमा गर्न प्रस्ताव गर्नुभएको छ ।
उहाँले आफ्नो कार्यकाल पूरा हुनुपर्ने तर अरू निर्वाचित जनप्रतिनिधिले पूरा कार्यकाल काम गर्न नपाउने भन्ने हुन नसक्ने टिप्पणीसमेत गर्नुभयो । देश कसैको हुकुमबाट नभई संविधान र कानुनअनुसार चल्नुपर्नेमा उहाँले जोड दिनुभयो । ०००००









प्रतिकृया दिनुहोस