रुसतर्फ गइरहेको मालवाहक जहाजमाथि ड्रोन आक्रमण

बिर्तामोड, ६ मंसिर । 
रुसको कालिनिनग्रादतर्फ गइरहेको मालवाहक पानीजहाज ‘स्पार्टा द्वितीय’ माथि पूर्वी फिनल्यान्डको खाडीमा ड्रोन आक्रमण भएको छ । रुसी र फिनिस अधिकारीहरूका अनुसार शनिबार बिहान भएको आक्रमणपछि जहाजमा आगलागी भएको थियो । आगलागीका कारण नियन्त्रण गुमाएको जहाज बग्दै फिनल्यान्डको जलक्षेत्रमा प्रवेश गरेको हो ।
फिनल्यान्डको रक्षा बलले आक्रमणमा युक्रेनको संलग्नता हुन सक्ने आशंका गरेको छ । यद्यपि, युक्रेनले यसबारे कुनै प्रतिक्रिया दिएको छैन ।
कालिनिनग्रादका गभर्नर एलेक्सेई बेस्प्रोज्भान्निखले जहाजमा दुईवटा ड्रोनबाट आक्रमण भएको प्रारम्भिक जानकारी प्राप्त भएको बताउनुभएको छ । उहाँले घटनाका कारण कालिनिनग्रादको आपूर्ति व्यवस्थामा कुनै असर नपर्ने पनि स्पष्ट पार्नुभएको छ ।
फिनल्यान्डको तटरक्षक बलका अनुसार शनिबार बिहान स्थानीय समय ८ बजेर ५० मिनेटमा आक्रमणबारे सूचना प्राप्त भएको थियो । त्यसबेला जहाज फिनल्यान्डको खाडीस्थित सुर्सारी टापुबाट करिब ५० किलोमिटर पश्चिममा रहेको थियो ।
घटनापछि सुरक्षा सतर्कता अपनाउँदै फिनल्यान्डका अधिकारीहरूले उक्त क्षेत्र वरपर अस्थायी हवाई तथा सामुद्रिक प्रतिबन्ध लागू गरेका छन् ।
कालिनिनग्राद रुसको मुख्य भूभागबाट टाढा बाल्टिक सागरको तटमा पोल्यान्ड र लिथुवानियाबीच अवस्थित रुसी क्षेत्र हो ।०००००


 

प्रतिकृया दिनुहोस