बैंकमा तरलता थुप्रिएपछि सरकारले साढे २ प्रतिशत ब्याजमै ऋण उठाउँदै
बिर्तामोड, ११ मंसिर ।
बैंक तथा वित्तीय संस्थामा लगानीयोग्य रकम थुप्रिएपछि सरकारले निकै सस्तो ब्याजदरमा आन्तरिक ऋण उठाउन थालेको छ । बैंकहरूमा कर्जाको माग कमजोर भएपछि सरकारी ऋणपत्रमा लगानी गर्ने प्रतिस्पर्धा बढेको छ । यसले सरकारलाई साढे दुई प्रतिशत हाराहारीको ब्याजदरमै ऋण जुटाउने अवसर दिएको छ । सार्वजनिक ऋण व्यवस्थापन कार्यालयका अनुसार चालु आर्थिक वर्ष २०८३÷८४ मा सरकारले १३ पटक विकास ऋणपत्र निष्कासन गरी एक खर्ब ३० अर्ब रुपैयाँ उठाएको छ । तर, यसका लागि ६ खर्ब ८८ अर्ब ९६ करोड रुपैयाँभन्दा बढीको आवेदन परेको छ । यो निष्कासन गरिएको रकमभन्दा पाँच दशमलव तीन गुणा बढी हो ।
चालु आर्थिक वर्षमा निष्कासन भएका विकास ऋणपत्रको औसत ब्याजदर दुई दशमलव ९३ प्रतिशत कायम भएको छ । सबैभन्दा कम ब्याजदर ६ वर्ष अवधिको ऋणपत्रमा दुई दशमलव ३५ प्रतिशत र सबैभन्दा बढी १५ वर्ष अवधिको ऋणपत्रमा चार दशमलव ५० प्रतिशत रहेको छ । पाँच वर्ष अवधिको ऋणपत्रमा सबैभन्दा बढी आकर्षण देखिएको छ ।
नेपाल राष्ट्र बैंकको तथ्याङ्कअनुसार बैंक तथा वित्तीय संस्थामा ८५ खर्ब ३० अर्ब रुपैयाँ निक्षेप रहेको छ भने कर्जा प्रवाह ६१ खर्ब १८ अर्ब रुपैयाँ मात्रै छ । बैंकिङ प्रणालीको कर्जा–निक्षेप अनुपात ७१ दशमलव १६ प्रतिशतमा सीमित छ । यसअनुसार बैंकहरूसँग १५ खर्ब रुपैयाँभन्दा बढी थप कर्जा प्रवाह गर्न सक्ने क्षमता छ । बैंकिङ प्रणालीमा रहेको अधिक तरलता व्यवस्थापन गर्न राष्ट्र बैंकले विभिन्न उपकरणमार्फत १३ खर्ब ७६ अर्ब रुपैयाँ बजारबाट खिचेको छ । सरकारले चालु आर्थिक वर्षमा चार खर्ब १० अर्ब रुपैयाँ आन्तरिक ऋण उठाउने लक्ष्य राखेको छ । तर, पुरानो ऋणको साँवा भुक्तानीपछि खुद आन्तरिक ऋण परिचालन एक खर्ब ६४ अर्ब रुपैयाँमा सीमित हुनेछ । यसैबीच, चालु आर्थिक वर्षको कात्तिक मसान्तसम्म नेपालको सार्वजनिक ऋण २९ खर्ब ७५ अर्ब रुपैयाँ नाघेको छ । यो कुल गार्हस्थ्य उत्पादनको ४५ दशमलव शून्य आठ प्रतिशत हो ।
बैंकमा तरलता पर्याप्त हुँदा सरकारले सस्तो ब्याजमा ऋण पाउनु तत्कालका लागि सकारात्मक देखिए पनि सार्वजनिक ऋणको बढ्दो आकार र त्यसको सदुपयोग तथा भुक्तानी क्षमता भने चुनौतीका रूपमा देखिएको छ ।



.jpeg)







प्रतिकृया दिनुहोस