भोटेकोशी बाढीमा बेपत्ता ३ हजार ९१५ जनालाई मृत घोषणा गर्न सरकारसमक्ष सिफारिस

बिर्तामोड, ११ मंसिर । 
भोटेकोशी बाढीमा बेपत्ता भएका ३ हजार ९१५ जनालाई मृत्यु भएको घोषणा गर्न विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन कार्यकारी समितिले सरकारसमक्ष सिफारिस गरेको छ ।
गृहमन्त्री सुधन गुरुङको अध्यक्षतामा हिजो बसेको समितिको बैठकले ४८ जिल्लाबाट यकिन भएका ३ हजार २ सय ९२ नेपाली र १९ विदेशी नियोगबाट प्राप्त विवरणका आधारमा यकिन भएका ६ सय २३ विदेशी नागरिकलाई मृत घोषणा गर्न सिफारिस गरेको हो ।
विपद्सम्बन्धी केही नेपाल ऐन संशोधन गर्ने अध्यादेश, २०८३ ले विपद्मा परी बेपत्ता भएका व्यक्तिलाई सरकारले मृत्यु भएको घोषणा गर्न सक्ने व्यवस्था गरेको छ । यसअघि प्राधिकरणले बेपत्ता व्यक्तिको विवरण दाबी गर्न दुई चरणमा सातदिने सूचना जारी गरेको थियो ।
प्राधिकरणका अनुसार बाढीमा कुल ५ हजार २ सय ८५ जना बेपत्ता भएकामा अहिलेसम्म ३ हजार ९१५ जनाको मात्र विवरण यकिन भएको छ। अझै १ हजार ३ सय ७० जनाको विवरण आउन बाँकी छ । विवरण यकिन नहुँदा पीडित परिवारले कानुनी रूपमा मृत्यु दर्ता, राहत र क्षतिपूर्ति पाउन सकेका छैनन् ।
बाढीमा भेटिएका १ हजार १४८ शवको पहिचान खुलाउने उद्देश्यले डीएनए नमुना सङ्कलन गरी व्यवस्थापन गरिएको भए पनि डीएनए मिलानका आधारमा पहिचान गर्ने काम अझै पूरा भएको छैन ।
गत भदौ १० गते भोटेकोशी हुँदै त्रिशूली नदीमा आएको बाढीले ठूलो जनधनको क्षति पु¥याएको थियो । बाढीबाट विस्थापित हजारौँ नागरिक अझै पुनःस्थापनाको प्रतीक्षामा कष्टकर जीवन बिताउन बाध्य छन् । 


 

प्रतिकृया दिनुहोस