कम्बोडिया र थाइल्यान्ड समुद्री सीमा विवाद समाधानका लागि सहमत
विर्तामोड, ११ मंसिर ।
कम्बोडिया र थाइल्यान्डले विवादित समुद्री सीमा समस्या समाधानका लागि संयुक्त राष्ट्रसङ्घीय आयोगलाई दुवै देशका तट तथा सम्बन्धित टापुहरूको स्थलगत भ्रमण गर्न अनुमति दिने सहमति गरेका छन् ।
मलेसियाको क्वालालम्पुरमा समुद्री कानूनसम्बन्धी संयुक्त राष्ट्रसङ्घीय महासन्धि अन्तर्गतको मेलमिलाप आयोगसँग भएको चारदिने तेस्रो बैठकपछि दुवै देश यस्तो सहमतिमा पुगेका हुन् ।
बैठकमा समुद्री सीमा निर्धारणसँग सम्बन्धित प्राविधिक विषयमा काम गर्न दुवै देशका विज्ञ तथा आयोगका सदस्यहरू सम्मिलित संयुक्त प्राविधिक कार्यदल पनि गठन गरिएको छ ।
बैठकपछि जारी विज्ञप्तिमा सम्बन्धित टापु तथा दुवै देशका तटहरूको स्थलगत भ्रमणबाट विवादित क्षेत्रको भौगोलिक अवस्था र त्यससँग जोडिएका विशेष परिस्थितिबारे आयोगलाई थप जानकारी प्राप्त हुने उल्लेख गरिएको छ ।
कम्बोडियाका उपप्रधानमन्त्री तथा विदेशमन्त्री प्राक सोखोन्नेले बैठकमा भएको प्रगतिलाई सकारात्मक कदम बताउनुभएको छ । उहाँले दुवै देश सधैँ छिमेकी रहने भएकाले आपसी सहकार्य र समझदारी आवश्यक रहेको बताउनुभयो ।
थाइल्यान्डका उपप्रधानमन्त्री तथा विदेशमन्त्री सिहासाक फुआंगकेटकोले पनि समुद्री सीमा विवाद समाधानका लागि मेलमिलाप प्रक्रियामा रचनात्मक सहभागिता जारी राख्ने बताउनुभएको छ । उहाँले दुई देशबीच समुद्री सीमा निर्धारणको प्रक्रियामा थप प्रगति हुने विश्वास व्यक्त गर्नुभयो । ०००००




...jpeg)







प्रतिकृया दिनुहोस