जनकपुरधाम–अयोध्या रेल सेवा व्यावसायिक रूपमा सञ्चालन, पहिलो दिन ४०० यात्रुले लिए टिकट
जनकपुरधाम, १२ मंसिर ।
जनकपुरधाम र भारतको अयोध्याबीच सञ्चालन गरिएको सरयु–कमला एक्सप्रेस रेल सेवा आजदेखि व्यावसायिक रूपमा सुरु भएको छ ।
उद्घाटन भएको एक सातापछि व्यावसायिक सेवा सुरु भएको हो । नेपाल रेल्वे कम्पनीका प्रबन्ध सञ्चालक परिवेश पराजुलीका अनुसार पहिलो दिन जनकपुरधामबाट अयोध्या जान ४०० यात्रुले टिकट काटेका छन् । यात्रु लिएर रेल आजै अयोध्याका लागि प्रस्थान गरेको उहाँले जानकारी दिनुभयो ।
अब यात्रुले भारतको टिकट प्रणालीमार्फत अनलाइन र जनकपुरधाम रेल्वे स्टेसनबाट प्रत्यक्ष टिकट लिन सक्नेछन् ।
रेलको स्लीपर श्रेणीको भाडा ५८४ रुपैयाँ, वातानुकूलित तेस्रो श्रेणी इकोनोमीको एक हजार ४१६, तेस्रो श्रेणीको एक हजार ५४४ र दोस्रो श्रेणीको दुई हजार १७६ रुपैयाँ निर्धारण गरिएको छ ।
निर्धारित तालिकाअनुसार रेल प्रत्येक सोमबार बिहान साढे ५ बजे अयोध्याबाट जनकपुरधाम आउनेछ भने शनिबार दिउँसो १ बजेर १० मिनेटमा जनकपुरधामबाट अयोध्याका लागि छुट्नेछ ।
१७ वटा डिब्बा रहेको रेलले करिब ६०४ किलोमिटर दूरी तय गर्नेछ । जयनगर, मधुवनी, सीतामढी, रक्सौल, नरकटियागञ्ज, गोरखपुर, बस्ती र मनकापुरलगायत स्थानमा पनि यात्रु चढ्न र ओर्लन सक्ने व्यवस्था गरिएको छ ।
रेलमा यात्रा गर्न नेपाली नागरिकले नागरिकता, राहदानी वा मतदाता परिचयपत्रमध्ये कुनै एक प्रस्तुत गर्नुपर्नेछ ।
माता सीताको जन्मभूमि जनकपुरधाम र भगवान् श्रीरामको जन्मभूमि अयोध्यालाई जोड्ने यो रेल सेवाले नेपाल–भारतबीचको धार्मिक तथा सांस्कृतिक सम्बन्ध थप प्रगाढ बनाउनुका साथै तीर्थयात्रा र धार्मिक पर्यटन प्रवद्र्धनमा सहयोग पुग्ने अपेक्षा गरिएको छ । ००००











प्रतिकृया दिनुहोस