सरकारले निर्यात अनुदानको विकल्पमा उत्पादनमा आधारित नगद प्रोत्साहन कार्यक्रम चलाउने

काठमाडौं, ११ मंसिर । 
निर्यातमा दिँदै आएको नगद अनुदान बन्द गरेको करिब एक वर्षपछि सरकारले त्यसको विकल्पमा उत्पादनमा आधारित नगद प्रोत्साहन कार्यक्रम कार्यान्वयनमा ल्याएको छ ।
उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयले नयाँ कार्यविधि जारी गर्दै उत्पादन र बिक्री बढाउने उद्योग तथा निर्यातकर्तालाई बढेको बिक्री मूल्यको २ देखि १० प्रतिशतसम्म प्रोत्साहन दिने व्यवस्था गरेको हो । नयाँ व्यवस्था अनुसार साना उद्योगले बढीमा ३० लाख, मझौला उद्योगले ५० लाख र ठूला उद्योगले ८० लाख रुपैयाँसम्म प्रोत्साहन पाउनेछन् । चालु आर्थिक वर्षका लागि सरकारले यो कार्यक्रमअन्तर्गत १ अर्ब १८ करोड रुपैयाँ विनियोजन गरेको छ ।
प्रोत्साहन पाउन उद्योगले आधार वर्षको तुलनामा पछिल्लो आर्थिक वर्षमा कम्तीमा १० प्रतिशत उत्पादन वृद्धि गरेको हुनुपर्नेछ । उत्पादन वृद्धि, बिक्री मूल्य, निर्यातको हिस्सा, स्वदेशी मूल्य अभिवृद्धि, राजस्व योगदान र रोजगारी सिर्जनालाई मूल्याङ्कनको आधार बनाइएको छ ।
कुल १०० पूर्णाङ्कमध्ये उत्पादन वृद्धिलाई सबैभन्दा बढी ५० अंक दिइएको छ । निर्यात योगदानका लागि २०, स्वदेशी मूल्य अभिवृद्धि र राजस्व योगदानका लागि १०–१० तथा रोजगारी र उद्योग रहेको भौगोलिक क्षेत्रका लागि पाँच–पाँच अंक छुट्याइएको छ ।
मूल्याङ्कनमा ९१ देखि १०० अंक प्राप्त गर्ने उद्योगले बढेको बिक्री मूल्यको १० प्रतिशत, ८१ देखि ९० अंक ल्याउनेले ८ प्रतिशत, ७१ देखि ८० अंक ल्याउनेले ६ प्रतिशत र ६१ देखि ७० अंक ल्याउनेले ४ प्रतिशत प्रोत्साहन पाउनेछन्। ५० देखि ६० अंक ल्याउनेले दुई प्रतिशत पाउनेछन् भने ५० भन्दा कम अंक ल्याउने उद्योग प्रोत्साहनका लागि अयोग्य हुनेछन् ।
कार्यविधिले कृषि तथा खाद्य प्रशोधन, चिया, कफी, अलैंची, दुग्धजन्य पदार्थ, वनजन्य उत्पादन, हस्तकला, गलैंचा, पस्मिना, कपडा, जुत्ता, तयारी पोसाक, छालाजन्य सामग्री र आयुर्वेदिक औषधिसहित २२ समूहका वस्तु समेटेको छ ।
प्रोत्साहनका लागि उद्योग विभागमा आवेदन दिनुपर्नेछ । उद्योग कानुनअनुसार दर्ता तथा अद्यावधिक भएको, कर चुक्ता गरेको र आवश्यक लेखापरीक्षण प्रतिवेदन तथा उत्पादन वृद्धि पुष्टि गर्ने कागजात पेस गरेको हुनुपर्नेछ ।
आवेदनको मूल्याङ्कन उद्योग विभागका निर्देशकको संयोजकत्वमा रहने पाँच सदस्यीय समितिले गर्नेछ । समितिमा नेपाल राष्ट्र बैंक र भन्सार विभागका प्रतिनिधिसमेत रहनेछन् ।
यसअघि सरकारले निर्यातमा ४ देखि ८ प्रतिशतसम्म नगद अनुदान दिँदै आएको थियो । २०८१ कात्तिकसम्म निर्यातकर्ताले साढे ६ अर्ब रुपैयाँभन्दा बढी अनुदान पाएका थिए । तर, भुक्तानीमा ढिलाइ र अन्तर्राष्ट्रिय व्यापार नियमसँग सम्बन्धित जटिलताका कारण सरकारले पुरानो व्यवस्था खारेज गरेको थियो । ०००००
 

प्रतिकृया दिनुहोस