करार कर्मचारीदेखि अस्थायी शिक्षक र बालविकास सहजकर्तासम्म सामाजिक सुरक्षा कोषमा समेटिँदै

काठमाडौं, ११ मंसिर । 
सरकारले सङ्घीय सरकारका करार कर्मचारी, राहत तथा अस्थायी शिक्षक, बालविकास सहजकर्ता र अनौपचारिक क्षेत्रमा कार्यरत श्रमिकलाई सामाजिक सुरक्षा कोषमा आबद्ध गराउने प्रक्रिया अघि बढाएको छ ।
सामाजिक सुरक्षाको दायरा विस्तार गरी सबै श्रमिकलाई योगदानमा आधारित प्रणालीमा समेट्ने उद्देश्यसहित सरकारले यस्तो पहल थालेको हो ।
नवौँ सामाजिक सुरक्षा दिवसका अवसरमा आयोजित कार्यक्रममा सामाजिक सुरक्षामन्त्री सीता बादीले चालु आर्थिक वर्षको बजेटमा विनियोजित एक अर्ब ८० करोड ६३ लाख रुपैयाँबाट करार कर्मचारी, राहत तथा अस्थायी शिक्षक र बालविकास सहजकर्तालाई कोषमा आबद्ध गराउने प्रक्रिया सुरु गरिएको जानकारी दिनुभयो ।
त्यसैगरी, स्थानीय तहको सहयोगमा सामाजिक सुरक्षा कोषमा आबद्ध हुने अनौपचारिक क्षेत्रका श्रमिकका लागि सरकारले हाललाई एक प्रतिशत बराबरको योगदान रकम जम्मा गरिदिने व्यवस्था गरेको उहाँले बताउनुभयो ।
मन्त्री बादीले सामाजिक सुरक्षासम्बन्धी विभिन्न कार्यक्रम र कल्याणकारी कोषलाई एकीकृत तथा समन्वय गरी सेवा प्रवाहलाई सरल, पारदर्शी र प्रभावकारी बनाउनुपर्नेमा जोड दिनुभयो ।
उहाँले सामाजिक सुरक्षालाई रोजगारदातामाथिको अतिरिक्त आर्थिक भार नभई श्रमिकको उत्पादकत्व, श्रमको सम्मान र संस्थागत स्थायित्वमा गरिएको लगानीका रूपमा बुझ्नुपर्ने बताउनुभयो ।
हाल सामाजिक सुरक्षा कोषमा ३३ लाखभन्दा बढी योगदानकर्ता र करिब २४ हजार रोजगारदाता सूचीकृत छन् । कोषमा एक खर्ब ३३ अर्ब २६ करोड रुपैयाँभन्दा बढी योगदान रकम सङ्कलन भएको छ भने २३ अर्ब २६ करोड रुपैयाँभन्दा बढी दाबी भुक्तानी भइसकेको छ ।
यस वर्षको सामाजिक सुरक्षा दिवस ‘सामाजिक सुरक्षा कोषमा आबद्धता ः वर्तमान र भविष्यको सुरक्षा’ भन्ने नारासहित मनाइएको हो । ०००००
 

प्रतिकृया दिनुहोस