याङवरक गाउँपालिकाले दुर्गम क्षेत्रमा आधुनिक स्वास्थ्य पूर्वाधार विस्तार गर्दै 

पाँचथर, १३ मंसिर ।
पाँचथरको याङवरक गाउँपालिकाले दुर्गम क्षेत्रका नागरिकलाई गाउँमै गुणस्तरीय स्वास्थ्य सेवा उपलब्ध गराउने उद्देश्यले स्वास्थ्य पूर्वाधार निर्माण तथा विस्तारलाई तीव्रता दिएको छ ।
यसैक्रममा गाउँपालिकाको वडा नम्बर १ च्याङथापू र वडा नम्बर ३ ओयाममा दुईवटा आधुनिक स्वास्थ्य चौकी भवन निर्माण सम्पन्न भएका छन् । गाउँपालिका अध्यक्ष भीमबहादुर योङ्याले केही दिनअघि दुवै भवनको उद्घाटन गर्नुभएको हो ।
तीन करोड ६ लाख ९० हजार पाँच सय रुपैयाँको लागतमा निर्माण भएका दुवै भवन दुईतले र नौ–नौ कोठाका छन् । निर्माण कम्पनीले निर्धारित समयमै भवन सम्पन्न गरी गाउँपालिकालाई हस्तान्तरण गरेको स्वास्थ्य शाखा प्रमुख डिल्लीरमण पाण्डेले जानकारी दिनुभयो ।
नयाँ भवन निर्माण भएपछि प्रसूति सेवा, बहिरङ्ग सेवा र स्वास्थ्यकर्मीको आवास व्यवस्थापन सहज हुने अपेक्षा गरिएको छ । यसले दुर्गम क्षेत्रका नागरिकलाई सामान्य उपचारका लागि सदरमुकाम फिदिम तथा तराईका अस्पतालसम्म पुग्नुपर्ने बाध्यता कम गर्ने विश्वास गरिएको छ ।
गाउँपालिकाले यसअघि वडा नम्बर २ को बेतेनीमा स्वास्थ्य चौकी भवन निर्माण गरी सेवा सञ्चालनमा ल्याएको छ भने वडा नम्बर ६ को परेवाडाँडामा पनि यसै वर्ष भवन निर्माण गर्ने जनाएको छ ।
यस्तै, वडा नम्बर ४ थर्पूमा निर्माणाधीन आधारभूत अस्पतालको काम पूरा गरी सेवा सञ्चालन गर्ने तयारी भइरहेको छ । वडा नम्बर २ को सेरेजामा प्राथमिक स्वास्थ्य इकाइ सञ्चालनमा आइसकेको छ भने वडा नम्बर ३ को चोथ्रोकमा स्वास्थ्य इकाइ निर्माण प्रक्रिया अघि बढाइएको छ ।
गाउँपालिकाले स्वास्थ्य पूर्वाधारसँगै आवश्यक उपकरण र दक्ष जनशक्ति व्यवस्थापनमा समेत लगानी गर्दै आएको जनाएको छ । ०००००
 

प्रतिकृया दिनुहोस