भूतपूर्व सैनिक सम्मेलन भोलिदेखि कोशी प्रदेशबाट सुरु हुँदै 

विर्तामोड, १३ मंसिर ।
यस वर्षको भूतपूर्व सैनिक सम्मेलन भोलिदेखि कोशी प्रदेशबाट सुरु हुँदैछ । सैनिक कल्याणकारी कोषको व्यवस्थापनमा मङ्सिर १४ देखि २५ गतेसम्म कोशी र बागमती प्रदेशका २४ जिल्लाका २० स्थानमा सम्मेलन आयोजना गर्न लागिएको हो ।
नेपाली सेनाका अनुसार सम्मेलनमा करिब ५५ हजार भूतपूर्व सैनिक तथा पारिवारिक निवृत्तिभरणमा रहेका व्यक्तिको सहभागिता रहने अनुमान गरिएको छ ।
सम्मेलनको मूल भाव ‘भूतपूर्व सैनिक सम्मेलनको प्रण–पुनर्मिलन, हिताधिकारीको कल्याण र कोषको दिगोपन’ रहेको छ ।
पहिलो चरणमा पूर्वी पृतनाअन्तर्गत सुनसरी, मोरङ, धनकुटा, भोजपुर, सङ्खुवासभा, तेह्रथुम, झापा, इलाम, पाँचथर, ताप्लेजुङ, उदयपुर, खोटाङ र सोलुखुम्बुमा सम्मेलन हुनेछ ।
सम्मेलनमार्फत अवकाश प्राप्त सैनिकबीच पुनर्मिलन गराउने, उनीहरूका अनुभव आदानप्रदान गर्ने तथा शिक्षा, स्वास्थ्य, स्वरोजगार र पुनःरोजगारलगायत कल्याणकारी कार्यक्रमबारे जानकारी गराउने उद्देश्य राखिएको छ ।
त्यस्तै, भूतपूर्व सैनिकका समस्या, आवश्यकता, गुनासा र सुझाव प्रत्यक्ष रूपमा नेतृत्वसमक्ष पु¥याई कल्याणकारी सेवा तथा सुविधालाई थप प्रभावकारी बनाउने लक्ष्य रहेको नेपाली सेनाले जनाएको छ ।
हरेक प्रधान सेनापतिको कार्यकालमा प्रत्येक प्रदेशमा एकपटक आयोजना हुँदै आएको भूतपूर्व सैनिक सम्मेलनलाई व्यवस्थित बनाउन तीन चरणमा विभाजन गरी तीन वर्षभित्र देशभर सञ्चालन गर्ने व्यवस्था गरिएको छ । यस वर्षको सम्मेलनलाई प्रधान सेनापति अशोकराज सिग्देलले सम्बोधन गर्नुहुनेछ । ०००००
 

प्रतिकृया दिनुहोस