तस्करी र राजश्व चुहावट नियन्त्रणमा मन्त्रालय निर्मम रहेको छ : गृहमन्त्री लामिछाने

बिर्तामोड, १७ चैत ।
उपप्रधान एवं गृहमन्त्री रवि लामिछानेले तस्करी नियन्त्रण र राजश्व चुहावट नियन्त्रणको कुरामा गृह मन्त्रालय निर्मम भएको बताउनुभएको छ । 
आज इलाममा आयोजित एक अन्तरक्रिया कार्यक्रममा बोल्दै उहाँले यस्तो बताउनुभएको हो । उहाँले सीमा वा विमानस्थलमा जहाँ भएपनि तस्करी नियन्त्रण, राजश्व चुहावट नियन्त्रणको कुरामा गृह मन्त्रालयले निर्मम भएर काम गरिरहेको दाबी गर्नुभयो । 
उहाँले आम नागरिकको शान्ति सुरक्षा आफूको चासोको विषय रहेको बताउनुभयो । उहाँले इलाममा लागूऔषधमा निकै ठूलो समस्या र चुनौती रहेको बताउनुभयो । उहाँले इलाममा डरलाग्दो आत्महत्याको तथ्यांक आएको भन्दै यसमा अध्ययन नै गर्नुपर्ने आवश्यकता औंल्याउनुभयो । उहाँले स्थानीय र राष्ट्रिय चुनौतीहरुसँग जुध्नको लागि सबै प्रतिबद्ध हुन जरुरी रहेको बताउनुभयो ।
उपप्रधानमन्त्री लामिछानेले राजनीतिको भविष्यको प्रवाह नगरी सिंगो देशको भविष्यको ध्यान राखेर काम गर्ने प्रतिवद्धताका साथ आफूहरु सरकारमा आएको बताउनु भयो ।  
यसैबीच,  गृहमन्त्री लामिछानेले सरकारले साझा मुद्दा र सवालमा काम गरिरहेको बताउनुभएको छ । इलाममा राजनीतिक दल एवं समाजसेवीसँगको अन्तक्र्रियामा उहाँले साझा एजेन्डामा सबै दल एकजुट हुनुपर्ने बताउनुभयो ।
सीमा, सडक, स्वास्थ्य, शिक्षा र कृषिलगायत जनतासँगै प्रत्यक्ष जोडिएका विषयमा सबैका साझा समस्या भएको भन्दै गृहमन्त्री लामिछानेले दलहरु ती विषयमा एकजुट भएर समाधान खोज्नुपर्ने बताउनुभयो । देशमा धेरै समस्या रहेकाले ती समस्या एकैपटक समाधान गर्न नसकिने भन्दै उहाँले क्रमशः समाधान गर्दै जानुपर्ने बताउनुभयो ।  
कार्यक्रममा स्थानीय तह, व्यापारी, विभिन्न राजनीतिक दलका प्रतिनिधिले जिल्लामा रहेका कृषि, स्वास्थ्य, शिक्षा तथा सीमामा उत्पन्न हुने समस्याका बारेमा गृहमन्त्री लामिछानेसमक्ष जानकारी गराउनुभएको थियो । स्थानीय अमीर राईले कोरोना महामारीका समयमा सरकारले दिने भनेको छुटका बारेमा हालसम्म सुनुवाइ नभएको गुनासो गर्नुभयो । यस्तै नेपाली कांग्रेसका जिल्ला सदस्य हुकुम थेवेले सीमाक्षेत्रका समस्या तथा जीर्ण अवस्थामा रहेका सुरक्षा चौकीको स्तरोन्नति गर्नुपर्ने बताउनुभयो । स्थानीय रिना घिमिरेले मेची राजमार्गका विभिन्न स्थानमा समस्या आएको भन्दै तत्काल सडक मर्मत गर्न आग्रह गर्नुभयो । राष्ट्रिय जनमुक्ति पार्टीका ललितबहादुर थेवेले दैनिक उपभोग्य वस्तुमा महँगी बढेकाले अनावश्यक रुपमा गरिएको मूल्यवृद्धिको सरकारले अनुगमन गर्नुपर्नेमा जोड दिनुभयो । 
इलाम नगरपालिकाका प्रवक्ता नुतनदेव दुलालले किसानले समस्या भोग्नु परिरहेकाले समस्या समाधानमा पहल गर्नुपर्ने बताउनुभयो । इलाम नगरपालिकाका प्रमुख केदार थापाले जिल्लामा लागुऔषध प्रयोगकर्ताको सङ्ख्या वृद्धि भइरहेकाले यसलाई नियन्त्रण गर्नुपर्ने धारणा राख्नुभयो ।   
सो अवसरमा युवा तथा खेलकुदमन्त्री विराजभक्त श्रेष्ठले युवा र खेलकुदका समस्या समाधानमा आफूहरु लागिपरेको बताउनुभयो । उहाँले एकैपटक सबै समस्या समाधान हुन नसक्ने भन्दै क्रमैसँग समस्या समाधान गरिने बताउनुभयो ।  ००००००००

प्रतिकृया दिनुहोस