नेपालको लगातार पाँचौं हार
काठमाडौँ, २३ माघ ।
त्रिदेशीय महिला टी–२० अन्तर्राष्ट्रिय क्रिकेट शृङ्खलामा नेपालले लगातार पाँचौं हार बेहोरेको छ । नेदरल्यान्ड्सले नेपाललाई १० विकेटले हराएको हो ।
नेपालले दिएको १ सय ४६ रनको लक्ष्य नेदरल्यान्ड्सले १९ ओभर ४ बलमा एक विकेट पनि नगुमाई भेटायो । नेदरल्यान्ड्सका स्टेर कालिसले ९८ र पेबे मोलकेनबोरले ४८ रन बनाए । यो खेलमा कालिस र मोलकेनबोरले १५१ रनको कीर्तिमानी साझेदारी गरे । टी–२० अन्तर्राष्ट्रिय क्रिकेटमा नेदरल्यान्ड्सको महिला टोलीले कुनै पनि विकेटका लागि गरेको यो सबैभन्दा ठूलो साझेदारी हो । यसअघि सन् २०१९ मा जर्मनीसँगको खेलमा दोस्रो विकेटका लागि १ सय ४४ रनको साझेदारी गरेका थिए ।
यसअघि कीर्तिपुरको त्रिवि क्रिकेट मैदानमा टस जितेर ब्याटिङ गरेको नेपालले २० ओभरमा ४ विकेट गुमाएर १ सय ४५ रन बनायो । नेपालकी अलराउन्डर पूजा महतोले अर्धशतक बनाइन् । पूजाले ५१ बलमा नटआउट ६२ रन जोडिन् । यस्तै कप्तान इन्दु बर्माले ३९, रुबिना क्षेत्रीले २० रन बनाए । नेदरल्यान्ड्सकी आइरिस ज्विलिङ्गले २ विकेट लिइन् ।
नेपालले यसअघिका ४ वटै खेल हारेको छ । नेपाली महिला टोली नेदरल्यान्ड्स र थाइल्यान्डसँग २÷२ पटक पराजित भएको छ । थाइल्यान्ड ४ वटै खेल जित्दै ८ अङ्कसहित तालिकाको शीर्ष स्थानमा छ । नेदरल्यान्ड्स ५ खेलमा ६ अङ्कसहित दोस्रो स्थानमा छ । नेपाल अङ्कविहीन हुँदै पुछारमा छ ।
लिग चरणमा शीर्ष स्थानमा रहने टोलीले शृङ्खलाको उपाधि जित्नेछ । ०००००
प्रतिकृया दिनुहोस