नयाँ सरकार संविधानको धारा ७६ को उपधारा २ अनुसार बन्ने कांग्रेस नेता कोइरालाको जिकिर 

विर्तामोड, २५ असार ।

नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले नयाँ सरकार संविधानको धारा ७६ को उपधारा २ अनुसार बन्ने बताउनु भएको छ ।
जोरपाटीमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै कांग्रेस र एमाले मिलेर देशलाई स्थायित्व दिनुपर्छ भनेर आफूले उठाएको मुद्दाले सार्थकता पाएको बताउनुभयो ।
यसैबीच, नेकपा एमालेका सांसद ईश्वरबहादुर रिजालले सरकारमा जानकै लागि नभएर निश्चित उद्देश्य लिएरमात्रै एमाले सरकारमा जाने जिकिर गर्नुभएको छ ।
प्रतिनिधिसभाको बैठकमा बोल्दै उहाँले अब बन्ने सरकार संविधानको धाराभित्रैबाट भन्ने बताउनुभयो ।
नेकपा माओवादी केन्द्रका नेताहरुले प्रधानमन्त्री प्रचण्डले विश्वासको मत नपाएपछि संविधानको धारा ७६ (३) अनुसार नयाँ सरकार बन्ने जिकिर गरिरहेका बेलामा उहाँले त्यसको जवाफ दिँदै भन्नुभयो, ‘अब बन्ने सरकार संविधानकै धाराभित्रबाट बन्ने हो । बालाजुको बाइसे धाराबाट बन्दैन । त्यसको चिन्ता तपाईंहरुले गर्नुपर्दैन ।’
कांग्रेसले संविधानको धारा ७६ (२) अनुसार एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई प्रधानमन्त्री बनाउने सहमति गरेको छ, तर ३ मा गए सबैभन्दा ठूलो दलको हैसियतले कांग्रेसका सभापति शेरबहादुर देउवा प्रधानमन्त्री बन्नुहुनेछ ।
राजनीतिक स्थिरता कायम गर्ने उद्देश्यले नै कांग्रेससँग मिलेको एमाले सांसद रिजालले जिकिर गर्नुभयो । प्रधानमन्त्री प्रचण्ड गतिशील नभएर अस्थिर भएको उहाँले बताउनुभयो । 
 

प्रतिकृया दिनुहोस