सौर्य एअरलाइन्सको विमान दुर्घटनामा ज्यान गुमाएकाको शव भोलि बेलुकासम्म आफन्तलाई बुझाइने : स्वास्थ्यमन्त्री पौडेल

बिर्तामोड, १० साउन ।
स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री प्रदीप पौडेलले सौर्य एअरलाइन्सको विमान दुर्घटनामा ज्यान गुमाएकाहरूको शव भोलि बेलुकासम्म आफन्तलाई बुझाउने बताउनुभएको छ । विमान दुर्घटना परी ज्यान गुमाएका आफन्त र घाइते पाइलट मनिषरत्न शाक्यको अवस्था बुझ्न आज त्रिवि शिक्षण अस्पताल महाराजगञ्जमा पुग्नुभएका मन्त्री पौडेलले अहिले मृतकहरूको फिङ्गर प्रिन्ट्स, दाँतबाट र शरीरका विभिन्न सङ्केतबाट पहिचान गर्ने काम भइरहेको र हिजो नै चार वटा शवको पहिचान भइसकेको बताउनुभयो । उहाँले शवको पहिचान भए पनि म्याचिङ गर्न बाँकी रहेको बताउनुभयो ।
मन्त्री पौडेलले आज बेलुकासम्म सबैको पहिचान गरिसक्ने र शुक्रवार बेलुकासम्म आफन्तलाई जिम्मा लगाउने गरी काम भइरहेको जानकारी गराउनुभयो । पहिचान हुन नसकेको शवहरूको भने डीएनए गर्नुपर्ने भएकाले केही समय लाग्नसक्ने उहाँको भनाइ छ ।
स्वास्थ्यमन्त्री पौडेलले नेपाललाई पर्यटकीय गन्तव्य बनाइरहने कुरा गर्दा यस्ता दुर्घटनाले पर्यटन क्षेत्रमा पनि क्षति पुग्ने बताउनुभयो । उहाँले सरकारले भएका कमजोरी र लापरबाही पत्ता लगाएर कारबाही, सुधार र नियमन गर्ने उल्लेख गर्नुभयो । सरकारले ४५ दिनको समय दिएर छानबिन गर्न आयोग गठन गरेको र आयोगले विस्तृतमा समस्या र दुर्घटनाको कारण पत्ता लगाउने गरी काम गर्ने उहाँले बताउनुभयो । विमानको ब्ल्याक बक्स सुरक्षित रहेकाले वास्तविकता छिटै पत्ता लाग्ने पनि उहाँले बताउनुभयो ।
हिजो बिहान पोखराका लागि उडेको सौर्य एअरलाइन्सको जहाज केही सेकेन्डमै दुर्घटना हुँदा १८ जनाको ज्यान गएको छ भने पाइलट मनिषरत्न शाक्य घाइते हुनुभएको छ ।  ००००००००
 

प्रतिकृया दिनुहोस