उत्तर कोरियाले दक्षिण कोरियासँग जोडिने दुई मुख्य सडक विस्फोट गराई भत्काइदियो

विर्तामोड, २९ असोज ।

उत्तर कोरियाले दक्षिण कोरियासँग जोडिने दुई मुख्य सडकहरू विस्फोट गराई भत्काइदिएको छ । दक्षिण कोरियासँग पूर्ण रूपमा सम्बन्ध तोड्ने चेतावनी दिएको उत्तर कोरियाले आज दुई कोरियाली मुलुकलाई जोड्ने सडक भत्काएको हो ।
पश्चिमी किनारामा रहेको ग्योङ्गुई लाइन र पूर्वी किनारामा रहेको डोङ्घाई लाइन सडक उत्तर कोरियाले भत्काएको हो ।
दक्षिण कोरियाली सञ्चार माध्यम द कोरिया हेराल्डका अनुसार गत वर्षदेखि नै उत्तर कोरियाले सीमामा बारुदी सुरुङ बिछ्याउन सुरु गरेको थियो । दुई कोरियाली देश विश्वकै अति सुरक्षित सीमा संरचनाले विभाजित छन् । त्यसैले पनि उत्तर कोरियाको पछिल्लो कदमलाई सांकेतिक रूपमा हेरिएको छ ।
उत्तर र दक्षिण जोड्ने सडकहरू वर्षौंदेखि सञ्चालनमा पनि छैन । दक्षिण कोरियाली रक्षा मन्त्रालयले सार्वजनिक गरेको भिडियोमा दुई देशबीचको सीमांकन क्षेत्रमा रहेको सडक विस्फोटबाट उडाइएको देखिन्छ । त्यस्तै सडक भत्काउनलाई एक्स्काभेटर र ट्रकहरूसमेत प्रयोग गरिएको भिडियोमा देख्न सकिन्छ । सीएनएनका अनुसार दक्षिण कोरियाली सेनाले प्रतिक्रियास्वरूप उक्त क्षेत्रमा गोलीबारीसमेत गरेको छ ।
दोस्रो विश्वयुद्धमा भएको जितसँगै अमेरिका र सोभियत संघले कोरियालाई दुई देशमा विभाजन गरेका हुन् । सन् १९४८ मा भएको एकीकरणको प्रयास विफल भएपछि १९५० देखि १९५३ सम्म उत्तर र दक्षिण कोरियाबीच भएको युद्धले छिमेकीहरूबीच खाडल झन् बढाइदियो ।
कोरियाको विभाजनपछि उत्तर कोरियाका कम्युनिस्ट नेता किम इल सुङले शासन सञ्चालन गरे । सुङका नाति किम जोङ उन हाल उत्तर कोरियाका शासक छन् । किम विश्वका गरिबमध्येको देश उत्तर कोरियाका तानाशाही शासकका रूपमा परिचित छन् । उत्तर कोरियाले हालसम्म सन् २००६, २००९, २०१३, २०१६ र २०१७ कम गरी ६ पटक आणविक हतियार परीक्षण गरिसकेको छ । ०००००
 

प्रतिकृया दिनुहोस