सरकारले भारतबाट दुई लाख मेट्रिक टन गहुँ आयात गर्ने

विर्तामोड, १ कात्तिक ।

सरकारले भारतबाट दुई लाख मेट्रिक टन गहुँ आयात गर्ने भएको छ । बजारमा गहुँको अभाव हुँदा मूल्यवृद्धि भएको निष्कर्ष निकाल्दै उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयले गहुँ आयातको प्रक्रिया थालेको जनाएको छ ।
मैदा, चाउचाउ र बिस्कुट उत्पादक सहितका व्यवसायीले गहुँ आयात गरी आपूर्ति बढाउन लबिइङ गरिरहेका छन् ।
गहुँ, पिठो र मैदा सहज आपूर्ति गरिदिन माग आएपछि गहुँ आयातको पहल थालिएको मन्त्रालयका प्रवक्ता बाबुराम अधिकारीले जानकारी दिनुभयो ।
नेपालमा गहुँ निर्यात गर्न गरिएको आग्रहमा भारत सरकार सकारात्मक रहेको उहाँले बताउनुभयो । मैदा व्यवसायीले गहुँ आयातमा भन्सार शुल्क घटाउन र आपूर्ति सहज गर्न माग गरिरहेका छन् ।
व्यवसायीलाई चाडपर्वका बेला मूल्य नबढाउन मन्त्रालयले आग्रह गरेको छ । बजारमा कृतिम अभाव सिर्जना गरी मुल्यवृद्धि गरेको पाइएमा अनुगमन गरी कारबाही गरिने मन्त्रालयको चेतावनी छ ।
बजारमा गहुँको अभाव हुन थालेको र गहुँको मूल्यवृद्धि भएकाले मैदाको मूल्य बढाउन बाध्य भए तापनि चाडपर्वका बेला मूल्य स्थिर गर्न मैदा उत्पादक संघ सहमत भएको संघका उपाध्यक्ष दिनेश अग्रवालले बताउनुभयो ।
व्यवसायीले नेपालमा गहुँ आपूर्ति गर्दा समस्या हुने गरेको भन्दै सरकारलाई सहज गरिदिन आग्रह गरिएको उहाँको भनाइ छ ।
उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारीले चाडपर्वका बेला अनावश्यक सञ्चय गरी कृत्रिम अभाव सिर्जना गर्ने, अनुचित नाफा लिने र सर्वसाधारण उपभोक्तालाई मर्का पार्ने विषय स्वीकार नहुने बताउनुभयो । उहाँले त्यस्ता क्रियाकलाप निरुत्साहित गर्न सरकारले अनुगमनलाई प्रभावकारी बनाउने र अनुगमनका क्रममा गलत क्रियाकलाप भएको पाइएमा कानुन बमोजिम कारबाही गरिने बताउनुभयो । ०००००

प्रतिकृया दिनुहोस