पेरिस पारा ओलम्पिक २०२४ मा काँस्य पदक विजेता पलेशा गोवर्धनलाई सम्मान 

विर्तामोड, १९ भदौ ।

पेरिस पारा ओलम्पिक २०२४ मा काँस्य पदक विजेता पलेशा गोवर्धनलाई काठमाडौँ महानगरपालिकाले पाँच लाख रुपैयाँसहित सम्मान गरेको छ । 
पारा ओलम्पिकमा सहभागिता जनाएर आज बिहान नेपाल फर्कनु भएकी पलेशालाई महानगरपालिकाले नगद पुरस्कारसहित सम्मान गरेको हो । महानगरले पलेशाको प्रशिक्षक कविराज नेगी लामालाई पनि तीन लाख रुपियाँबाट सम्मान गरेको छ ।
पलेशा र प्रशिक्षकलाई महानगर प्रमुख बालेन्द्र शाह, उपप्रमुख  सुनिता डंगोल, सामाजिक विकास समितिका संयोजक राजु केसीलगायतले सम्मान गर्नुभयो । पलेशाले पेरिस पारालिम्पिक्समा तेक्वान्दोको के ४४ विधाअन्तर्गत महिला ५७ केजीमुनिको प्रतिस्पर्धामा सर्वियाकी खेलाडीलाई पराजित गर्नुहुँदै कांस्य पदक जित्नुभएको थियो ।
आज बिहान पलेशालाई त्रिभुवन विमानस्थलमा युवा तथा खेलकुद मन्त्री तेजुलाल चौधरी, राष्ट्रिय खेलकुद परिषद्का उच्च अधिकारी, पलेशाका समर्थक, खेलकुदप्रेमीलगायतले भव्य स्वागत गर्नुभएको हो । पलेशालाई विमानस्थलबाट नगरपरिक्रमा गराई राष्ट्रिय खेलकुद परिषद् परिसरमा सम्मान गरिएको थियो । 
यसैबीच,
राष्ट्रपति रामचन्द्र पौडेलले पेरिस पारा ओलम्पिकमा कांस्य पदक विजेता पलेशा गोवर्धनसहितको टोलीलाई सम्मान गर्नुभएको छ ।
शीतल निवासमा आज आयोजित एक कार्यक्रमकाबिच पदक विजेता पलेशालाई राष्ट्रपति पौडेल र प्रथम महिला सविता पौडेलले माला र दोसल्ला ओढाएर सम्मान गर्नुभएको हो ।
राष्ट्रपति पौडेलले पलेशाका प्रशिक्षक कविराज नेगी लामालाई पनि बधाई तथा शुभकामना दिनुभयो । सम्मानपछि राष्ट्रपति पौडेलले पलेशालाई शुभकामना दिँदै यसबाट देशको शिर उँचो पार्ने काम भएको र अर्को पटक स्वर्ण पदक राष्ट्रले अपेक्षा गरेको बताउनुभयो । 
सम्मान कार्यक्रममा नेपाली सेनाको एक टुकडीले मङ्गलधुन बजाएर स्वागत गरेको थियो । कार्यक्रममा युवा तथा खेलकुदमन्त्री तेजुलाल चौधरी, पदक विजेता पलेशाका बाबु आमा र खेल सङ्घका पदाधिकारीहरूको सहभागिता रहेको थियो । 
पलेशाले पेरिस पारा ओलम्पिकमा तेक्वान्दोको ४४ विधाअन्तर्गत महिला ५७ केजीमुनिको प्रतिस्पर्धामा सर्बियाकी खेलाडीलाई पराजित गर्दै कांस्य पदक जित्नु भएको थियो ।  ००००००००
 

प्रतिकृया दिनुहोस