सबै इन्टरनेट सेवा प्रदायक र मोबाइल सेवा प्रदायकलाई टिकटकमाथिको प्रतिबन्ध हटाउन निर्देशन 

विर्तामोड, २१ भदौ ।

दूरसञ्चार क्षेत्रको नियामक निकाय, नेपाल दुरसञ्चार प्राधिकरणले टिकटकमाथिको प्रतिबन्ध हटाएको जानकारी गराएको छ । १५ दिन अघि नै मन्त्रिपरिषद्को बैठकले टिकटकको प्रयोगमा लगाइएको रोक हटाउने निर्णय गरेको भए पनि प्राधिकरणले औपचारिक जानकारी गराएको थिएन । केही सेवा प्रदायकले सरकारको निर्णयकै आधारमा टिकटक खुला गरेका भए पनि धेरैले टिकटकमाथिको प्रतिबन्ध हटाएका थिएनन् ।
नेपाल दूरसञ्चार प्राधिकरणले आज सूचना निकालेर सबै इन्टरनेट सेवा प्रदायक र मोबाइल सेवा प्रदायकलाई टिकटकमाथिको प्रतिबन्ध हटाउन निर्देशन दिएको हो । टिकटकले सामाजिक सद्भाव भड्काउने काम भएको भन्दै गएको वर्ष कार्तिक २७ गते तत्कालीन सरकारले प्रतिबन्ध लगाएको थियो ।  
यसैबीच,
नेपाल दूरसञ्चार प्राधिकरणले इन्टरनेट सेवा प्रदायकहरूलाई आफूखुशी शुल्क नलिन निर्देशन दिएको छ । साथै, प्राधिकरणसँग स्वीकृति लिएर मात्र शुल्क निर्धारण गर्न सूचनामार्फत जानकारी गराएको छ ।
आफूखुशी शुल्क निर्धारण गर्न नपाउने जानकारीसहित प्राधिकरणले दूरसञ्चार सेवा प्रदायकहरूले सेवा प्रदान गरेबापत ग्राहकसँग लिने शुल्क तथा महसुल दर दूरसञ्चार ऐन २०५३ को दफा ४२ तथा अनुमति पत्रको शर्त बमोजिम प्राधिकरणबाट अनिवार्य रूपमा स्वीकृत गराई प्राधिकरणबाट स्वीकृत भएको मितिसमेत उल्लेख गरी ग्राहक तथा सर्वसाधारणको जानकारीका लागि सूचना प्रकाशित गरेपछि मात्र लागू गर्नुपर्ने कानूनी व्यवस्था रहेको जनाएको छ ।
कतिपय इन्टरनेट सेवा प्रदायकहरूले सेवाको शुल्क–महसुल दर स्वीकृत नगराई विभिन्न सामाजिक सञ्जाल, पत्रपत्रिका तथा सम्बन्धित सेवा प्रदायकहरूको वेबसाइटमा सूचना प्रकाशन गरी लागू गरेको अवस्था देखिएकाले प्राधिकरणले गम्भीर ध्यानाकर्षण भएको उल्लेख गरेको छ । ००००००
 

प्रतिकृया दिनुहोस