भारत–चीनबीचको सम्बन्ध धेरै जटिल : विदेशमन्त्री जयशङ्कर

विर्तामोड, २८ भदौ ।

भारतीय विदेशमन्त्री एस जयशङ्करले भारत–चीन सम्बन्धलाई ‘जटिल’ बताउनुभएको छ । उहाँले दुवै मुलुकबीचको व्यापार मुद्दामाथि लामो समयदेखि चलिरहेको सङ्घर्षलाई प्रकाश पार्दै चीनसँग आर्थिक सम्बन्ध ‘अनुचित र असन्तुलित’ रहेको बताउनुभयो ।
विदेशमन्त्री जयशङ्करको उक्त टिप्पणी जेनेभा सेन्टर फर सिक्योरिटी पोलिसीमा राजदूत जिन–डेभिड लेभिटसँगको छलफलका क्रममा आएको हो । 
“यो (भारत–चीन सम्बन्ध) अत्यन्तै जटिल सम्बन्ध हो... इतिहासमा यिनीहरूको खराब समय थियो, उनीहरू दुवै पुनर्जीवित भइरहेका छन् र एक किसिमले कायाकल्प गरिरहेका छन्, उनीहरू एक मात्र दुई देश हुन् जसको जनसङ्ख्या एक अर्बभन्दा धेरै छ”, उहाँले भन्नुभयो, “कुनै मुलुकको उदय हुँदा यसको प्रभाव छिमेकमा पर्छ र यी दुवै मुलुकलाई एकअर्काको छिमेकी भएको सम्मान पनि प्राप्त हुन्छ, त्यसैले मैले जटिल जस्तो सुरक्षित अभिव्यक्ति शब्द किन चयन गरेँ भन्ने तपाईं समग्रतामा बुझ्न सक्नुहुन्छ ।”
उहाँले दुवै मुलुकबीच अतीतमा कठिन सम्बन्ध रहेको र सन् २०२० मा गलवान उपत्यकामा भारतीय र चिनियाँ सैनिकबीच भिडन्त भएको बारेमा बताउनुभयो । “अतीतमा हाम्रो सम्बन्ध सहज थिएन, सन् २०२० मा जे भयो त्यो धेरै सम्झौताको उल्लङ्घन थियो, चीनले ठूलो सङ्ख्यामा सैनिकहरूलाई वास्तविक नियन्त्रण रेखामा बढायो... चीनसँग सीमा वार्तामा केही प्रगति भयो”, उहाँले भन्नुभयो । 
उहाँका अनुसार सैनिक फिर्तीको ७५ प्रतिशत समस्या समाधान भइसकेको बताउनुभयो । 
भारतीय विदेश मन्त्रालयका अनुसार विशेष रूपमा भारत र चीनले अगस्ट २९ मा बेइजिङमा डब्लुएमसिसीको ३१औँ बैठक गरेका थिए र दुवै पक्षले सान्दर्भिक द्विपक्षीय सम्झौता र प्रोटोकलअनुसार संयुक्त रूपमा सीमावर्ती क्षेत्रमा शान्ति कायम राख्ने निर्णय गरेका थिए । 
विदेशमन्त्रीले सीमा मुद्दाबाहेक दुवै मुलुकले प्रविधि, दूरसञ्चार र डिजिटलसहित अन्य क्षेत्रमा पनि कठिनाइको सामना गरेको बताउनुभयो । “मलाई लाग्छ भारत–चीन सम्बन्धमा ठूला मुद्दाहरू छन्, व्यापार मुद्दामा हाम्रो लामो सङ्घर्ष छ, चीनसँग आर्थिक सम्बन्ध अत्यन्त अन्यायपूर्ण छ”, उहाँले भन्नुभयो, “यो धेरै असन्तुलित छ, हामीसँग त्यहाँ बजार पहुँच छैन, भारतमा उसको बजारसम्म राम्रो पहुँछ छ, प्रविधि, दूरसञ्चार, डिजिटलजस्ता विभिन्न क्षेत्रमा आज हाम्रा धेरै चिन्ता छन् ।” ००००००
 

प्रतिकृया दिनुहोस