उत्तर कोरियाको संविधानमै दक्षिण कोरिया ‘शत्रु राज्य’ का रूपमा परिभाषित

विर्तामोड, १ कात्तिक ।

उत्तर कोरियाको संविधानले दक्षिण कोरियालाई ‘शत्रु राज्य’का रूपमा परिभाषित गरेको छ । उत्तर कोरियाले भर्खरै संशोधन गरेको संविधानमा दक्षिण कोरियालाई शत्रु राज्यका रूपमा परिभाषित गरेको बीबीसीले जनाएको छ ।
उत्तर र दक्षिण कोरियाबीचको तनाव वर्षाैंयताकै उच्च विन्दुमा पुगेको अवस्थामा उत्तर कोरियाली अखबार ‘रोदोङ सिनमुन’ले संविधान संशोधनलाई ‘अपरिहार्य र वैध उपाय’का रूपमा व्याख्या गरेको जनाएको छ ।
गएको जनवरी महिनामा उत्तरका नेता किम जोङ उनले दक्षिणलाई आफ्नो सत्ताको ‘एक नम्बरको शत्रु’ भनेर घोषणा गरेयता यी दुई देशबीचको तनाव उच्च विन्दुमा पुगेको छ ।
उत्तर कोरियाले मङ्गलवार दक्षिण कोरियासँग जोड्ने सडक र रेलमार्गलाई विस्फोट गराएर ध्वस्त पारेको थियो । उत्तर कोरियाली मिडियाले यसलाई उत्तर र दक्षिण कोरियालाई पूर्णरूपमा अलग गर्ने कदमको कार्यान्वयनको भागका रूपमा वर्णन गरेका छन् ।
उत्तर कोरियाली नेता किम जोङ उनले गएको वर्षको डिसेम्बर महिनाको शुरूमै उत्तर कोरियासँग एकीकरण त्यागेका कारण केही पर्यवेक्षकहरूले संविधान संशोधनलाई ठूलो मात्रामा प्रतीकात्मक कदमका रूपमा हेरेका बीबीसीले जनाएको छ ।
दुई देशबीच सन् १९५३ मा युद्ध अन्त्य भए पनि औपचारिक शान्ति सम्झौतामा हस्ताक्षर नभएका कारण अहिले पनि प्राविधिक रूपमा उत्तर र दक्षिण कोरिया एकअर्काविरुद्ध युद्धकै अवस्थामा छन् । ०००००
 

प्रतिकृया दिनुहोस