नेत्रहीन क्रिकेट विश्वकपमा नेपालको सहभागिता हुने 

काठमाडौँ, ३ कात्तिक (रासस) ।
पुरुष तथा महिलाहरुको क्रिकेटमा आफ्नो बेग्लै पहिचान बनाउन सफल नेपालले नेत्रहीनहरुको क्रिकेटमा पनि सशक्त उपस्थिति जनाउँदै आइरहेको छ । 
आगामी मंसिर ७ गतेदेखि १८ गतेसम्म पाकिस्तानमा आयोजना हुने चौंथो टि ट्वान्टी नेत्रहीन विश्वकप क्रिकेट प्रतियोगिताका लागि नेपालले तयारी गरिरहेको छ । पुरुषहरुको उक्त विश्वकपमा नेपालबाट प्रतिनिधित्व गर्ने खेलाडीहरुको अन्तिम छनोट यही कात्तिक ४ गते र ५ गते काठमाडौंँमा हुने भएको छ । 
छनोट भएका खेलाडीहरुलाई आगामी तिहारपछि बन्द प्रशिक्षणमा राखिने नेत्रहीन क्रिकेट संघ नेपालका अध्यक्ष पवन घिमिरेले जानकारी दिनुभयो । यसअघि गत असारमा पहिलो चरणको छनोटअन्तर्गत १९ जना खेलाडी छनोट गरिएको थियो । 
तत्कालीन माओवादी द्वन्दका बेला २०६० सालमा आँखाको ज्योति गुमाउन पुगेका नेपाली सेनाका प्रमुख सेनानी घिमिरेकै सक्रियतामा नेपालमा २०६३ सालमा नेत्रहीनहरुको क्रिकेटको सुरुआत भएको थियो । 
उहाँले नेत्रहीन क्रिकेट खेलाडी, कप्तान, प्रशिक्षक, अम्पायर तथा नेत्रहीन क्रिकेट सङ्घ नेपालको अध्यक्ष समेत भूमिका निर्वाह गरेर नेत्रहीन क्रिकेटलाई स्थापित गर्न योगदान दिनुभएको छ । नेत्रहीन क्रिकेटका पाकिस्तानी प्रशिक्षकले काठमाडौंको कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालय क्रिकेट मैदानमा ३३ जना प्रशिक्षण दिएर नेपालमा नेत्रहीनको क्रिकेटको सुरुवात गर्नु भएको थियो । 
अहिले नेपालमा स्थानीयस्तरदेखि अन्तराष्ट्रिय तहसम्मकै प्रशिक्षकहरु कार्यरत रहेका छन् । यो खेल विभिन्न जिल्लामा विस्तार हुने क्रम जारी रहेको छ । विभिन्न जिल्लामा रहेका दृष्टिविहीनहरुलाई प्रोत्साहनका लागि विभिन्न तहको प्रतियोगिता आयोजना गर्ने गरिएको छ । राष्ट्रिय खेलकुद परिषदले आयोजना गर्ने गरेको पारा तथा विशेष खेलकुदमा नेत्रहीन क्रिकेटलाई पनि प्रतियोगिताको रुपमा समावेश गर्ने गरिएको छ ।  
नेत्रहीनहरुको क्रिकेटमा विश्वका विभिन्न ११ देशको सहभागिता रहेकामा नेपालको हालको स्थान छैठौं, सातौं हुनु मुलुकका लागि उपलब्धिमूलक नै मान्नु पर्दछ । यी वाहेक अन्य देशका स्कूल कलेजहरुमा पनि नेत्रहीन क्रिकेट खेल्ने गरिएको छ । तर, यसको संस्थागत विकास भने हुन सकेको छैन् । नेपाली नेत्रहीन क्रिकेट टिमले सन् २००८ मा पाकिस्तानसँग मैत्रीपूर्ण खेल खेलेर आफ्नो अन्तर्राष्ट्रिय सहभागिताको सुरुवात गरेको थियो । त्यतिखेरै नेपाली टिमले पाकिस्तानमा नौ वटा मैत्रीपूर्ण खेल खेलेको थियो । 
नेपालले सन् २०१२ मा भारतको बेङ्गलोरमा भएको नेत्रहीनहरुको विश्वकपमा भाग लिएर विश्वकपमा सहभागिता प्रारम्भ गरेको थियो । त्यसबखत नेपालले पहिलोपटक बङ्गलादेशको टिमलाई पराजित गर्न सफल भएको थियो । भारतको केरलामा सन् २०१६ मा भएको एशियाली नेत्रहीन क्रिकेट प्रतियोगितामा पनि नेपालले आफ्नो सहभागिता जनाएको थियो । यसअघि सन् २०२१ मा भारतमा आयोजना भएको तेस्रो टि ट्वान्टी विश्वकपमा कोरोनाले आक्रान्त पारेको अवस्थामा पनि नेपालले भाग लिएको थियो । त्यतिखेर भारतले उपाधि जितेको थियो । ०००००
 

प्रतिकृया दिनुहोस