भारतीय विमानमा बम राखिएको धम्की बढ्दै

विर्तामोड, ५ कात्तिक ।
भारतीय विमानसेवामा बम राखिएको धम्कीको सङ्ख्या बढ्दा विमान गन्तव्यमा पुग्नु अघि नै अवतरण गराउनुपर्ने बाध्यतासँगै उडान तालिका अस्तव्यस्त भएको छ । गएको हप्ता मात्रै कम्तीमा ९० वटा धम्कीहरू प्राप्त भएका थिए ।
जसका कारण विमान ‘डाइभर्ट’ गर्नु परेको, उडानहरू रद्द भएका र यात्रामा ढिला भएको भारतको संघीय नागरिक उड्डयन मन्त्रालयलाई उद्धृत गर्दै बीबीसीले जनाएको छ । तर, पछि जाँच तथा छानविन गर्दा ती धम्कीहरु नक्कली भएको पुष्टि भएको छ ।
यसअघि गएको जुन महिनामा एकैदिन ४१ वटा विमानस्थलहरूले बम राखिएका धम्कीहरू इमेलमार्फत् प्राप्त गरेका थिए । आन्तरिक र अन्तर्राष्ट्रिय उडानहरू प्रभावित हुने गरी भारतीय विमानसेवाहरूलाई लक्ष्य गरेर भइरहेका धम्की भारतीय हवाइ क्षेत्रको सुरक्षा र बलियो सञ्चालन क्षमतालाई कमजोर पर्ने प्रयास स्वरुप भएका देखिएको भारतका संघीय नागरिक उड्डयनमन्त्री किन्जरापु राम मोहन नायडूले बताउनुभएको बीबीसीले जनाएको छ ।
भारतमा झन्डै सात सयवटा व्यावसायिक यात्रुवाहक विमानहरू छन् । विमान आकाशमा नै उडिरहेको अवस्थामा बम भएको सूचना वा धम्की पाएमा त्यसलाई सबैभन्दा नजिकको विमानस्थलमा अवतरण गराउनैपर्ने हुन्छ । कुनै अवस्थामा त्यस्ता विमानलाई लडाकु जेटहरूले सुरक्षा दिएर अगुवाइ गर्दै लैजाने पनि हुन्छ ।
डाइभर्ट गरिएको विमान अवतरण गरिसकेपछि यात्रुहरूलाई ओरालिन्छ र त्यसमा रहेका सबै ब्यागेज, कार्गो र खानपिनको व्यवस्था भएको केटरिङमा पनि खानतलासी गरिन्छ । त्यो काम गरिसक्न केही घन्टा लाग्छ । यसले उडानमा ढिलाई हुन्छ । यी सबै कुराले खर्च र उडान व्यवस्थामाथि ठूलो भार पर्न जान्छ । उडानमा ढिलाइ हुँदा उडान रद्द हुने र त्यसले उडान तालिकमा भद्रगोल हुने उड्ययनबिज्ञहरु बताउँछन् । ०००००
 

प्रतिकृया दिनुहोस