भारतबाट धमाधम चिनी आउँदै, तिहारमा चिनी अभाव नहुने 

विर्तामोड, ६ कात्तिक ।

नेपालीको महान चाड बडादशैँ सकिएसँगै अर्को महत्वपूर्ण चाड तिहारले छोपिसकेको छ ।
तिहारमा विशेषगरी चिनीको माग र खपत अत्यधिक हुने गर्छ र सरकारी निकायले पर्याप्त चिनी ल्याउन नसक्ने र यही मौका छोपेर व्यापारीले कृत्रिम अभाव खडा गरी उपभोक्ताको ढाड सेक्ने प्रवृत्ति प्रायः वर्षेनी दोहोरिने गरेको छ । तर, यसपटक अभाव नहुने र चिनी सहजै सुपथ मूल्यमा प्राप्त गर्न सकिने दाबी सरोकारवाला निकायले गरेका छन् ।
‘बजारमा चिनी अभाव छैन, नजिकैको पसलमा पाउनुभएन भने हाम्रो कार्यालयमा आउनुस्, एक जनालाई ६ केजीसम्म दिइरहेका छौँ’, साल्ट ट्रेडिङ कर्पोरेशनका नायव प्रमुख कार्यकारी अधिकृत कुमार राजभण्डारीले भन्नुभयो । 
विगतजस्तो अभाव हुन नदिनेगरी चिनी आयात भइरहेकाले यसपटक समस्या नरहेको राजभण्डारीले बताउनुभयो ।
‘दशैँमा पनि चिनी अभाव भएन, तिहारमा पनि हुँदैन, व्यापारीले कालोबजारी गर्ने अवस्था छैन, देशभरि बजार मूल्य पनि घटिसकेको छ’, साल्ट ट्रेडिङका सूचना अधिकारीसमेत रहनुभएका राजभण्डारीले भन्नुभयो‚ ‘निजी कम्पनीहरूले चिनी आयात गरिरहेका छन्, व्यापारीहरूले समेत गोदामबाट झिकिरहेका छन्, त्यसैले उपभोक्ता नआत्तिए हुन्छ ।’
सरकारले निजी कम्पनीहरूलाई पनि चिनी आयात गर्न कोटा छुट्याएको थियो । वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागका महानिर्देशक राजन पौडेलका अनुसार निजी संस्थाहरूले अहिलेसम्म ८ हजार १ सय मेट्रिक टन चिनी ल्याइसकेका छन् । 
विभागले गत साउनमा भारतबाट नेपालका फर्म कम्पनीका लागि छुट्याइएको १९ हजार मेट्रिक टन चिनी आयातको लागि आवेदन मागेको थियो । आवेदन स्वीकृत भएका ७ वटा कम्पनीलाई २७ सयदेखि २८ सय मेट्रिक टनको दरले कोटा तोकिएको थियो । त्यसमध्ये ८ हजार मेट्रिक टन चिनी भित्रिएको जानकारी विभागमा आएको महानिर्देशक पौडेलले बताउनुभयो । 
निजी कम्पनीहरूलाई साल्ट ट्रेडिङ कर्पोरेसनले निर्धारण गरेको मूल्यमा उपभोक्ताले पाउने गरी चिनीको बिक्री र आपूर्तिको प्रबन्ध मिलाउन भनिएको थियो ।
साल्ट ट्रेडिङसँगै खाद्य व्यापार तथा कम्पनी लिमिटेड र निजी क्षेत्रले पनि चिनी आयात गरिरहेकाले यो वर्षको तिहारमा चिनीको कुनै अभाव नदेखिएको पौडेलले बताउनुभयो ।
विभागले चाडपर्वलक्षित दैनिक बजार अनुगमन गरिरहेको छ । ‘विशेषगरी अहिले मिठाई, भाइ मसला, झिलिमिली बत्तीजस्ता तिहारमा बढी खपत हुने वस्तुहरुलाई लक्षित गरेर हामीले  नियमित रुपमा बजार अनुगमन गरिरहेका छौँ‚’ महानिर्देशक पौडेलले भन्नुभयो । 
काठमाडौंको बजारमा अहिले चिनी प्रतिकेजी १०९ देखि ११० रुपैयाँमा बिक्री भइरहेको पाइएको उहाँले जानकारी दिनुभयो ।
५० प्रतिशत भन्सार छुट दिएर सरकारले साल्ट ट्रेडिङसँगै खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडलाई पनि जिम्मा दिएको थियो । त्यसमध्ये ५ हजार ४ सय मेट्रिक टन खाद्यको भागमा परेको थियो । त्यसमध्ये १५० मेट्रिक टन चिनी भन्सारमा आइसकेको खाद्यकी सूचना अधिकारी शर्मिला न्यौपाने सुवेदीले जानकारी दिनुभयो ।
साल्ट ट्रेडिङका नायव प्रमुख कार्यकारी अधिकृत राजभण्डारीले ५० केजीका दरले करिब ३० हजार बोरा चिनी रहेको बताउनुभयो । भारतबाट अझै चिनी आउने क्रममा रहेको उहाँले जानकारी दिनुभयो । ०००००
 

प्रतिकृया दिनुहोस