चीनसँग बीआरआई सहकार्य फ्रेमवर्कमा हस्ताक्षर कांग्रेससँगको सहमतिमा
विराटनगर, २२ मङ्सिर ।
गृहमन्त्री तथा कांग्रेस नेता रमेश लेखकले चीनसँग बीआरआई सहकार्य फ्रेमवर्कमा हस्ताक्षर कांग्रेससँगको सहमतिमा भएको बताउनुभएको छ ।
प्रधानमन्त्री केपी शर्मा ओलीको मंसिर १७ देखि २० गतेसम्मको चार दिने चीन भ्रमणका क्रममा नेपाल र चीनबीच ‘बीआरआई सहकार्य फ्रेमवर्क’मा सहमति भएको थियो ।
कांग्रेस कोशी प्रदेशको प्रथम सम्मेलनलाई आज सम्बोधन गर्दै गृहमन्त्री लेखकले ‘बीआरआई सहकार्य फ्रेमवर्क’मा हस्ताक्षर सत्तारुढ दलहरूबीचको सहमतिमै भएको बताउनुभयो । ‘नेपाल सरकारले मित्रराष्ट्र चीनसँग बीआरआई सम्बन्धि थप सम्झौता गरेको छ । यो सम्झौता नेपाली कांग्रेसको धारणा, सल्लाह र सहमति अनुसार भएको हो । यसमा अन्यथा सोच्न जरुरी छैन,’ उहाँले भन्नुभयो ।
गृहमन्त्री लेखकले मुलुकको समग्र विकास गर्नका लागि आर्थिक सहायता लिन आवश्यक रहेको भन्दै बीआरआईमा ऋण लिने कुरा नभएको बताउनुभयो । ‘कांग्रेसले ऋण लिन्न भनेर भनिसकेको छ । प्रधानमन्त्रीजीले ऋण लिने कुरा भएको छैन भनिसक्नु भएको छ । अब यसको ठीक कार्यान्वयन लाग्नुपर्छ,’ उहाँले भन्नुभयो । बीआरआईमा ऋण लिने बाटो खुला राखेर सहमति गरेको भन्दै कांग्रेसभित्र आवाज उठिरहेको बेला गृहमन्त्री लेखकको यस्तो अभिव्यक्ति आएको हो ।
त्यस्तै, कांग्रेस र एमाले मिलेर बनेको सत्तारुढ गठबन्धनको लक्ष्य भ्रष्टाचार नियन्त्रण, विकास र समृद्धि रहेको लेखकको भनाइ थियो ।
‘समीकरणको धरातलमा उभिएर संघ र प्रदेशमा सरकार गठन भएका छन् । यो समीकरण केही मान्छेलाई मन्त्री बनाउन बनेको होइन । यो स्थायित्वका लागि बनेको हो । यसले भ्रष्टाचार नियन्त्रण, विकास र समृद्धिका लागि काम गरिरहेको छ । देशमा दिगो शान्ति, सुशासन, विकास र समृद्धिका लागि यो समीकरण बनेको हो,’ उहाँले भन्नुभयो ।
संविधान संशोधनको विषय उठेको भन्दै मन्त्री लेखकले संघीय लोकतान्त्रिक शासन व्यवस्था र समावेशितालाई थप उन्नत बनाउनका लागि संविधान संशोधन गरिने उहाँले बताउनुभयो । ०००००
प्रतिकृया दिनुहोस