बिर्तामोडको डोमालाल राजवंशी रंगशालामा जारी प्रथम झापा कप २०८१ को उपाधिका लागि भोलि चर्च ब्वाइज युनाइटेड र न्यु रोड टिम (एनआरटी) खेल्दै, दुबै टिमको उपाधि जित्ने दाबी

विर्तामोड, ७ पुस ।
झापाको बिर्तामोडस्थित डोमालाल राजवंशी रंगशालामा जारी प्रथम झापा कप २०८१ को उपाधिका लागि भोलि चर्च ब्वाइज युनाइटेड र न्यु रोड टिम (एनआरटी) खेल्दै छन् ।
फाइनल खेलको अघिल्लो दिन आज खेलमैदानमा आयोजित प्रिम्याच कन्फ्रेन्समा दुबै टिमले उपाधि जित्ने दाबी गरेका छन् ।
ए डिभिजन लिगको च्याम्पियन चर्च ब्वाइज र छैटौँ स्थानको एनआरटी १० दिनपछि पुनः उपाधि होडमा रहेका छन् । इलाम गोल्डकपपछि उनीहरु छिमेकी जिल्ला झापामा झापा कपको फाइनलमा खेल्दै छन् ।
झापा कपको पहिलो चरणमा गोर्खा ब्वाइज स्पोर्टस् क्लबलाई हराउँदै सेमिफाइनलमा स्थान बनाएको चर्च ब्वाइजले फाइनल प्रवेशका लागि सिरहाको सलहेश फुटबल क्लबलाई पराजित गरेको थियो ।
त्यस्तै, चित्लाङ फुटबल क्लबलाई रोक्दै अन्तिम चारमा प्रवेश गरेको एनआरटी इटहरीको राष्ट्रिय जागृतिलाई टाइब्रेकरमा पछि पार्दै फाइनल पुगेको हो ।
प्रि–म्याच कन्फ्रेन्समा चर्च ब्वाइजका टिम कप्तान कमल श्रेष्ठ र प्रशिक्षक सुमन श्रेष्ठले फाइनलको उपाधि हात पार्ने दाबी गर्नुभयो ।
बेन्चमा रहेका अनन्त तामाङ प्लेइङ ११ मा रहने प्रशिक्षक श्रेष्ठले बताउनुभयो । इलामको हारको बदला लिनेगरी खेल खेल्ने उहाँको भनाइ थियो ।
एनआरटीका कप्तान अञ्जन विष्ट र प्रशिक्षक जीवन सिंकेमानाले पनि उपाधि आफ्नो टिमले जित्ने दाबी गर्नुभयो । आफ्नो टिम सन्तुलित रहेको र खेलाडीहरु युवा तथा एकताबद्ध रहेकाले बलियो रहेको प्रशिक्षक जीवन सिंकेमानाले बताउनुभयो ।
प्रिम्याच कन्फ्रेन्समा झापा ११ का अध्यक्ष जलकुमार गुरुङ र प्रतियोगिता संयोजक केशवराज दाहालले झापा कपका विषयमा प्रष्ट पार्नु भएको थियो ।
प्रतियोगितामा नेपाल र भारतका १० टिमको सहभागिता रहेको थियो । आयोजक झापा–११ सहित भारतको जिटिए दार्जिलिङ, गोर्खा ब्वाइज रुपन्देही, एलएक्स सिटी मोरङ, राष्ट्रिय जागृति क्लब इटहरी, सलहेश युथ क्लब सिरहा, त्रिभुवन आर्मी फुटबल क्लब, चर्च ब्वाइज युनाइटेड, एनआरटी क्लब काठमाडौँ र चित्लाङ एफसी काठमाडौँ सहभागी भएका थिए ।
प्रतियोगिताको विजेताले नगद १० लाख तथा उपविजेताले नगद ५ लाख रुपैयाँ पुरस्कार पाउने आयोजक झापा ११ फुटबल क्लबका अध्यक्ष जलकुमार गुरुङले जानकारी दिनुभयो । प्रतियोगिताको फाइनल खेल भोलि पुस ८ गते हुनेछ । ००००००
 

प्रतिकृया दिनुहोस