आईपीओ निष्कासनका लागि सेबोनमा रियल सेक्टरका १६ वटा कम्पनीको निवेदन
विर्तामोड, २० पुस ।
पछिल्लो समय धितोपत्र दोस्रो बजारमा रियल सेक्टरका कम्पनीको आकर्षण बढ्न थालेको छ । यो सेक्टर (उत्पादन तथा प्रशोधन समूह) का १६ कम्पनीले आईपीओ निष्कासनका लागि नेपाल धितोपत्र बोर्ड (सेबोन)मा निवेदन दिएका छन् ।
ती कम्पनीहरूले कुल २२ अर्ब ७२ करोड रुपैयाँ बराबरको ९ करोड २४ लाख ५५ हजार ६८४ कित्ता आईपीओ निष्कासन गर्नका लागि सेबोनको अनुमति पर्खिरहेका छन् ।
सरकारले एक दशकदेखि बजारमा वास्तविक क्षेत्रका कम्पनी ल्याउन विभिन्न उपाय खोजे पनि त्यस अनुरूपको नतिजा विस्तारै देखिन थालेको यसबाट पुष्टि भएको छ ।
हाल धितोपत्रको दोस्रो बजारमा भने यो समूहका सूचीकृत कम्पनीको संख्या न्यून छ । नेपाल स्टक एक्सचेन्ज (नेप्से)मा सूचीकृत २६७ कम्पनीहरूमध्ये उत्पादन तथा प्रशोधन समूहमा ९ वटा मात्रै छन् ।
वास्तविक क्षेत्रका कम्पनीहरूलाई शेयर बजारमा भित्र्याउन नियामक निकायहरूले सहजीकरणसँगै सहुलियतपूर्ण व्यवस्था लागू गरेपछि यो क्षेत्रका कम्पनीहरू पनि शेयर बजारमा आउन इच्छुक देखिएका हुन् ।
हाल सेबोनमा निवेदन दिने उत्पादन तथा प्रशोधन समूहका कम्पनीहरूमध्ये ५ ओटाले प्रिमियम मूल्यमा, १० ओटाले अंकित मूल्यमा र १ ओटाले प्रतिकित्ता ५० रुपैयाँमा आईपीओ निष्कासन गर्न लागेको उल्लेख गरेका छन् ।
तीमध्ये जगदम्बा स्टील्सले सबैभन्दा धेरै २ करोड ७० हजार कित्ता आईपीओ निष्कासन गर्ने निवेदनमा उल्लेख गरेको छ । कम्पनीले अंकित मूल्यमा २ सय रुपैयाँ प्रिमियम मूल्य जोडेर प्रतिकित्ता ३ सय रुपैयाँमा आईपीओ निष्कासन गर्नेछ ।
त्यस्तै, शौर्य सिमेन्टले प्रिमियम मूल्यसहित प्रतिकित्ता २६४ दशमलव ५१ मा १ करोड ५९ लाख ८१ हजार ५ सय कित्ता आईपीओ निष्कासन गर्ने निवेदनमा उल्लेख गरेको छ ।
त्यसैगरी, मारुती सिमेन्ट्सले प्रिमियमसहित प्रतिकित्ता ३७७ मा १ करोड १६ लाख कित्ता, रिद्धिसिद्धि सिमेन्टले प्रतिकित्ता २१४ रुपैयाँ १० पैसा र अम्बे स्टिल्सले ३०३ रुपैयाँमा १ करोड ११ लाख ९२ हजार ७२७ कित्ता आईपीओ निष्कासन गर्ने तयारी गरेका छन् ।
यी कम्पनीहरूले सेबोनबाट स्वीकृति पाएपछि मात्रै आईपीओ निष्कासन गर्नेछन् । यीमध्ये अधिकांश कम्पनीले स्थानीय बासिन्दा र सर्वसाधारणको लागि आईपीओ निष्कासन गर्ने निवेदनमा उल्लेख गरेका छन् । ००००००
प्रतिकृया दिनुहोस