तिलोत्तमा उद्योग वाणिज्य सङ्घ र भलाइ कोषबीच सम्झौता
लुम्बिनी (मर्चवार), २० पुस ।
दुर्घटना न्यूनीकरणका लागि सङ्घसंस्थासँग सहकार्य अभियान सञ्चालन गरिरहेको यातायात मजदुर तथा व्यवसायी भलाइ कोष बुटवलले तिलोत्तमा उद्योग वाणिज्यसँग सम्झौता गरेको छ ।
सङ्घमा आबद्ध व्यवसायीका निजी तथा सार्वजनिक सवारीसाधनहरू भलाइ कोषमा आबद्ध गराउने र दुर्घटना न्यूनीकरण अभियानमा सहकार्य गर्ने उद्देश्यले वाणिज्य सङ्घ र भलाइ कोष बुटवलबीच द्विपक्षीय सम्झौता भएको हो ।
सम्झौतामा दुवै संस्थाका अध्यक्षले हस्ताक्षर गर्नुभएको छ । सङ्घले आफ्ना व्यवसायीका सवारीसाधन कोषमा दर्ता भएर सञ्चालन गर्ने सम्झौता गरेको भलाइ कोषका अध्यक्ष दिनेश फुल्लेलले जानकारी दिनुभयो । सम्झौतामा निजी तथा भाडामा चल्ने सवारीसाधनका अतिरिक्त सङ्घमा आबद्ध व्यवसायीका मोटरसाइकल तथा स्कुटरहरू समेत कोषमा नियमानुसार शुल्क बुझाइ आबद्ध गराइने उहाँले बताउनुभयो ।
कोषमा मासिक शुल्क बुझाउने व्यवसायीलाई दुई सय रुपैयाँ छुट प्रदान गर्नेगरी सम्झौता भएको तिलोत्तमा उद्योग वाणिज्य सङ्घका अध्यक्ष ज्ञानेन्द्र कार्कीले उल्लेख गर्नुभयो । उहाँका अनुसार सवारीसाधन बाटोमा दुर्घटना भई जीवित क्षति तथा तेस्रो पक्षको निर्जीव क्षतिको सम्पूर्ण लगानी कोषले बेहोर्नेछ । आफ्नो सवारीसाधनको व्यापक बिमा भएको अवस्थामा दुर्घटनाका कारण क्षति भएमा लागेको खर्चमा कोषले ५० प्रतिशत बेहोर्ने सम्झौतामा उल्लेख छ ।
त्यस्तै, दुर्घटना भई चालकलाई हिरासतमुक्त गर्दा लाग्ने खर्च पनि भलाइ कोषले बेहोर्नेछ । मोटरसाइकल र स्कुटर दुर्घटना हुँदा दुईजनासम्मको उपचार खर्च रकम १५ लाख रुपैयाँसम्म कोषले लगानी गर्ने सम्झौता भएको सङ्घका अध्यक्ष जानकारी दिनुभयो ।
दुवै पक्षबीच सम्झौता आदानप्रदान कार्यक्रममा कोषका तर्फबाट अध्यक्ष फुल्लेलका साथै उपाध्यक्ष छविलाल थापा, सचिव विजेश न्यौपाने, कोषाध्यक्ष प्रकाशकुमार नेपाल, कार्यालय प्रमुख ठानेश्वर बस्याल, वरिष्ठ लेखा अधिकृत ऋषिराम अर्याल र मणिग्राम शाखा प्रमुख पुरुषोत्तम भण्डारी सहभागी हुनुहुन्थ्यो भने सङ्घका तर्फबाट अध्यक्ष कार्की, पूर्वअध्यक्ष गुणनिधि भण्डारी, वरिष्ठ उपाध्यक्ष सुरज पङ्गेनी, महासचिव राजकुमार पाण्डे, कोषाध्यक्ष टिकाराम भण्डारी, सदस्यहरू नरेशबहादुर क्षेत्री र गङ्गाराम पाण्डेको सहभागिता थियो । ०००००
प्रतिकृया दिनुहोस