कोशी कटान क्षेत्रका पसलमा लुटपाट, तोडफोड र आगजनी 

विराटनगर, १२ साउन । 
सुनसरीको कोशी कटान क्षेत्रको अवस्था थप तनावग्रस्त बन्दै गएको छ । अहिले सो क्षेत्रमा रहेको पसलमा लुटपाट तोडफोड र आगजनी भइरहेको छ । प्रहरी पनि सो क्षेत्रमा तैनाथ छ ।
देवानगञ्ज गाउँपालिका–३ कप्तानगञ्जमा भएको घटनाको विरोधमा उत्रिएको समूहले आगजनी गरेको हो । उनीहरूले पूर्वपश्चिम राजमार्ग अवरुद्ध गरेको छन् ।
प्रदर्शनकारीहरूले राजमार्गको सुनसरी खण्डका विभिन्न स्थानमा टायर बालेर प्रदर्शन गर्दै सडक अवरुद्ध गरेका हुन् ।
आइतबार कप्तानगञ्जमा दुई समूहको झडप नियन्त्रणमा लिनका लागि प्रहरीले चलाएको गोली लागेर एक जनाको मृत्यु भएको थियो । ९ जना घाइते भएका थिए ।
घटनापछि स्थीति नियन्त्रणमा लिन स्थानीय प्रशासनले दक्षिण क्षेत्रका पाँच स्थानमा कफ्र्यु आदेश जारी गरेको थियो । कफ्र्यु उल्लङ्घन गर्दै सोमबार दिनभर प्रदर्शन भयो । स्थानीय प्रशासनले जारी गरेको कफ्र्यु आज पनि यथावत् छ ।
प्रमुख जिल्ला अधिकारी ईश्वरीप्रसाद अर्यालद्वारा जारी सूचना अनुसार आज बिहान ७ बजेदेखि साँझ ७ बजेसम्म देवानगञ्ज गाउँपालिका र हरिनगर गाउँपालिकाको सम्पूर्ण क्षेत्रमा निषेधाज्ञा लागु गरिएको छ । हरिनगरा, भुटाहा, कप्तानगञ्ज, घुस्की र देवानगञ्ज बजार क्षेत्रमा कफ्र्यु जारी रहेको छ । ०००००
 

प्रतिकृया दिनुहोस