नारायणी अस्पतालका चिकित्सकको सामूहिक राजीनामा

वीरगञ्ज, १२ साउन । 
वीरगञ्जस्थित नारायणी अस्पतालका ६८ जना चिकित्सकले सामूहिक राजीनामा दिएका छन् । अस्पतालमा कार्यरत चिकित्सकमाथि भएको आक्रमण र त्यसपछि प्रशासनसँगको वार्तामा भएको व्यवहारप्रति असन्तुष्टि जनाउँदै उनीहरूले मेडिकल सुपरिन्टेन्डेन्ट डा. चित्तरञ्जन साहसमक्ष राजीनामा बुझाएका हुन् ।
गत साउन ८ गते चिकित्सक डा. प्रमोद राममाथि कुटपिट हुनुका साथै अस्पतालमा तोडफोड भएपछि चिकित्सकहरूले आकस्मिकबाहेकका सेवा बन्द गरी आन्दोलन गर्दै आएका थिए । चिकित्सकहरूको आरोप अनुसार जिल्ला प्रशासन कार्यालय पर्सामा भएको वार्ताका क्रममा प्रमुख जिल्ला अधिकारी र प्रहरी प्रमुखले अपशब्द प्रयोग गर्नुका साथै केहीबेर नियन्त्रणमा राखेपछि यस्तो वातावरणमा काम गर्न नसकिने निष्कर्षमा पुगेर सामूहिक राजीनामा दिएका हुन् । 
यसैबीच, नेपाल चिकित्सक सङ्घले घटनाको विरोधमा आज देशभर आकस्मिकबाहेकका स्वास्थ्य सेवा बन्द गरेको छ । ०००००
 

प्रतिकृया दिनुहोस