धुलिखेलदेखि दाप्चा पुलसम्म बिपी राजमार्ग चौडा पारिँदै
काभ्रे, २ भदौ ।
बिपी राजमार्गअन्तर्गत काभ्रेपलाञ्चोकको धुलिखेलदेखि नमोबुद्धको दाप्चा पुलसम्मको सडक चौडा पारिने भएको छ । करिब २० किलोमिटर सडकखण्डलाई १० मिटर चौडा बनाउने योजना अघि बढाइएको हो ।
डिभिजन सडक कार्यालय भक्तपुरका अनुसार हाल उक्त सडकखण्डको मुख्य कालोपत्रे भाग औसतमा साढे पाँच मिटर मात्रै चौडा छ । सडक विस्तारका लागि विस्तृत परियोजना प्रतिवेदन अर्थात् डिपिआर तयार भइसकेको छ भने प्रारम्भिक वातावरणीय परीक्षण प्रतिवेदन तयार गर्ने काम भइरहेको छ ।
डिपिआरअनुसार सडक विस्तारमा तीन अर्ब ७९ करोड ७८ लाख रुपैयाँ खर्च हुने अनुमान गरिएको छ । सडक कालोपत्रे गर्न प्रतिकिलोमिटर करिब १८ करोड पाँच लाख रुपैयाँ खर्च हुने अनुमान छ ।
सडक विस्तार हुने क्षेत्र धुलिखेल, पाँचखाल, पनौती र नमोबुद्ध नगरपालिकामा पर्छ। सडकको दायाँबायाँ १५ मिटरसम्मका संरचना तथा जग्गाको मुआब्जा वितरण भइसकेको कार्यालयले जनाएको छ ।
यसैबीच, २०८१ असोजमा आएको बाढीपहिरोले भकुन्डेबेंसीदेखि नेपालथोकसम्म बिपी राजमार्गको करिब ३० किलोमिटर सडक क्षतिग्रस्त बनाएको थियो । हाल क्षतिग्रस्त क्षेत्रमा स्थायी पुनर्निर्माणको काम भइरहेको छ ।
पुनर्निर्माणका लागि काभ्रेतर्फ तीन र सिन्धुलीतर्फ एक गरी चार प्याकेजमा ठेक्का सम्झौता भइसकेको छ । काभ्रेतर्फ तीन सडकखण्डका लागि सात अर्ब ५० करोड र सिन्धुलीतर्फ एक सडकखण्डका लागि करिब एक अर्ब रुपैयाँ स्रोत सुनिश्चित गरिएको छ ।
जापान सरकारको अनुदान सहयोगमा आर्थिक वर्ष २०५३÷५४ देखि निर्माण सुरु भएको १६० किलोमिटर लामो बिपी राजमार्ग २०७२ असार १८ गते नेपाल सरकारलाई हस्तान्तरण गरिएको थियो । ०००००











प्रतिकृया दिनुहोस