बाँदरको उपद्रोले किसान हैरान
भोजपुर, २ भदौ ।
भोजपुरमा बाँदरको बढ्दो उपद्रोका कारण किसान वर्षभरको मेहनतबाट उब्जाएको अन्नबाली जोगाउनै मुस्किल पर्ने अवस्थामा पुगेका छन् । मकै पाक्ने समयमा खेतबारीमा बाँदरको झुण्ड पस्न थालेपछि किसान थप हैरान भएका हुन् ।
जिल्लाका नौवटै स्थानीय तहका अधिकांश क्षेत्रमा बाँदरको समस्या देखिएको किसानले बताएका छन् । विशेषगरी तल्लो भेग र वनजङ्गल आसपासका बस्तीमा बाँदरको आतङ्क बढी देखिएको छ ।
भोजपुर नगरपालिका–४ का किसान कुमार राउतले वर्षभरि मेहनत गरेर लगाएको बाली पाक्ने बेलामा बाँदरले नष्ट गरिदिने बताउनुभयो । खेतबारीमा दिनभरि निगरानी गरेर बाँदर धपाउनुपर्ने अवस्था रहेको भन्दै उहाँले दीर्घकालीन समाधानका लागि सरकारले प्रभावकारी योजना ल्याउनुपर्ने माग गर्नुभएको छ ।
बाँदरले मकैबालीसँगै तरकारी तथा फलफूलमा समेत क्षति पु¥याउन थालेपछि किसानले खेतबारीमा टहरा बनाएर नियमित निगरानी गर्दै आएका छन् । परिवारका दुईदेखि तीन जनासम्म दैनिक रूपमा बाँदर धपाउन खटिनुपर्ने अवस्था रहेको किसानको भनाइ छ ।
डिभिजन वन कार्यालय भोजपुरका प्रमुख खुद्रुस मियाँले स्थानीय तह र किसानको मागअनुसार बाँदर धपाउने यन्त्र वितरण गरिएको बताउनुभएको छ । तत्कालका लागि विभिन्न उपाय अपनाइए पनि समस्या दीर्घकालीन रूपमा समाधान गर्न थप प्रभावकारी योजना आवश्यक रहेको उहाँको भनाइ छ ।
बाँदरको उपद्रोका कारण कतिपय किसानले खेती जोगाउन नसकेर बस्ती नै छाड्नुपर्ने अवस्था आएको बताएका छन् । किसानले अन्नबाली र फलफूलमा हुने क्षति रोक्न स्थानीय तह र सम्बन्धित निकायबीच समन्वय गरी दीर्घकालीन समाधान खोज्न माग गरेका छन् । ०००००











प्रतिकृया दिनुहोस